रुसले क्यान्सरविरुद्धको खोप बनाउन सफल भएको पुष्टि
वि.सं.२०८१ पुस ४ बिहीवार ०७:१०
1.7K
shares
काठमाडौं: रुसी स्वास्थ्य मन्त्रालय अन्तर्गतको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले क्यान्सरको खोप बनाउन सफल भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भ्याक्सिनको नाम भने राखिएको छैन ।
रुसले उक्त खोजलाई शताब्दीकै ठूलो भएको दाबी गरेको छ । सरकारले उक्त खोप सन् २०२५ को सुरुमा सार्वजनिक गरिनुका साथै नागरिकलाई नि:शुल्क वितरण गरिने रुसी समाचारमाध्यम तासले जनाएको छ । निर्देशक आन्द्रेईले रुसले क्यान्सरविरुद्धको आफ्नै ‘एमआरएनए’ खोप विकास गरेको पुष्टि समेत गरे । खोपको क्लिनिकल परीक्षण गरिएको र त्यसमा उक्त भ्याक्सिनले ट्युमर वृद्धि हुनबाट रोक्न मद्दत गरेको देखाएको जनाइएको छ ।
सन् २०२४ को सुरुमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्यान्सरको खोप निर्माणको नजिक पुगेको बताएका थिए । यो खोप विगतका खोपभन्दा छिटो एन्टिबडी बनाउन सक्षम रहेको दाबी गरिएको छ । यो खोप ‘एमआरएन’ प्रविधिमा आधारित पहिलो खोप भएको बताइएको छ । विश्व स्वास्थ्य संगठन–डब्लूएचओका अनुसार प्रत्येक मिनेट क्यान्सरबाट १७ जनाको ज्यान जाने गरेको छ ।
वि.सं.२०८१ पुस ४ बिहीवार ०७:१०




















