मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ घरबाटै पक्राउ
वि.सं.२०८१ असोज ६ आइतवार १६:४६
1.2K
shares
काठमाडौं: गत असोज २ गते विद्युतीय कसुरसम्बन्धी अभियोगमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भक्तपुरको ठिमीस्थित उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो ।
उनलाई काठमाडौंस्थित साइबर ब्यूरो र जिल्ला प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको हो । पक्राउ गर्न पुगेको टोलीलाई प्रसाईं र उनका गार्डले अवरोध गरेका थिए । प्रहरीले प्रसाईंलाई पक्राउमा अवरोध गर्ने सुरक्षागार्डलाई पनि नियन्त्रणमा लिएको छ । गत बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले मेडिकल व्यवसायी प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रसाईंसँगै युट्युबर जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरूद्ध पनि विद्युतीय कारोबार ऐन अनुसारको कसुर गरेको आरोपमा पुर्जी जारी भएको थियो । विद्युतीय कसुरको अभियोगमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि प्रसाईले त्यसको दोष प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएका थिए । आफूविरुद्धको पक्राउ पुर्जीलाई प्रसाईंले प्रधानमन्त्री केपी शर्माओलीतिर सोझ्याउँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृसमेत रहेकी टीभी कार्यक्रम प्रस्तोता ज्वाला संग्रौलासम्म घटनाक्रम जोडिएको छ ।
गत साउन २० गते उनले दुईजना युट्युबर जीवन पाण्डे र प्रकाशचन्द्र दाहालसँग एउटा आपत्तिजनक अन्तर्वार्ता दिएका थिए । एकजना महिलाको चरित्र हत्या गर्ने गरी प्रसाईंले बोलेका कुराहरू यी दुईजना युट्युबरले जस्ताको तस्तै आफ्नो च्यानलमा प्रस्तुत गरेका थिए । प्रसाईंले प्रकाउ पुर्जी जारी भएका यी दुईजना युट्युबरबारे बुधबार पनि आफ्नो निवासमा पटक-पटक प्रशंसा गरे । यी दुई युट्युबरले नै आफ्नो आन्दोलनलाई यहाँसम्म ल्याउन मद्दत गरेकाले सरकारले उनीहरूसँग पनि रिसइबी साँधेको तर्क उनले गरेका थिए ।
प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य संग्रौलाबारे आपत्तिजनक कुरा बोल्दै गत साउन तेस्रो सात सार्वजनिक रुपमा उनको चरित्रहत्या गरेका थिए । ती दुई युट्युबरलाई अन्तर्वार्ता दिने क्रममा उनले ज्वालाले जापानमा वेश्यावृत्ति गरेको जस्तो गम्भीर र आपत्तिजनक लाञ्छना लगाएका थिए । प्रसाईंले त्यसबेला ज्वालाको नाम त लिएनन् । तर उनीसँगकै सन्दर्भ जोड्दै ‘जापानमा वेश्यावृत्ति गर्ने महिला’ को संज्ञा दिएका थिए । यही प्रकरणमा ज्वालाको उजुरीपछि प्रसाईं अनुसन्धानमा तानिएका हुन् ।
वि.सं.२०८१ असोज ६ आइतवार १६:४६


















