बंगलादेशमा हिंसात्मक प्रदर्शन उग्र बन्दै, एकैदिन मारिए ९१ जना, प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग
वि.सं.२०८१ साउन २१ सोमवार १२:०४
1.5K
shares
एजेन्सीः बंगलादेशमा आरक्षणको विरोधमा भइरहेको हिंसात्मक प्रदर्शन उग्र बन्दै गएको छ । आइतबार एकैदिन बंगलादेशका विभिन्न जिल्लाहरूमा गरी कम्तिमा पनि ९१ जना मारिएका छन् ।
प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै दसौं हजारको संख्यामा उत्रिएका विद्यार्थी र सुरक्षाकर्मीबीच झडप हुँदा एकै दिन ९१ जना मारिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छ्न । भुतपूर्व सेनाका सन्तानहरूलाई सरकारी जागिरमा आरक्षण दिने नीति विरूद्धको आन्दोलन अब सरकारविरोधी आन्दोलनमा परिणत भएको छ ।
आन्दोलनकारीहरूले प्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने भनेका छन् । प्रधानमन्त्री हसिनाको राजीनामा माग गर्दै ढाकामा मात्रै होइन विभिन्न जिल्लामा ठूलो प्रदर्शन भइरहेको बिबिसीले जनाएको छ । आइतबार आन्दोलित समूह र सुरक्षाकर्मीबीच विभिन्न जिल्लामा भिडन्त समेत भएको थियो । त्यसमध्ये सिराजगन्जमा सबैभन्दा धेरै हताहती भएको बताइएको छ । त्यहाँ आइतबार कम्तिमा १८ जना मारिएका छन् । तीमध्ये १३ जना सुरक्षाकर्मी रहेको पनि बिबिसीले जनाएको छ ।
बंगलादेशमा एकैदिन यति ठूलो संख्यामा मानिसहरूको मृत्यु भएको यो पहिलोपटक हो । विद्यार्थीहरूको यही आन्दोलनमा गत जुलाई १९ मा ६७ जनाको मृत्यु भएको समाचार संस्था सिएनएनले लेखेको छ । आइतबार ठूलो संख्यामा हताहती भएपछि सरकारले देशव्यापी अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ । साथै इन्टरनेट सेवा पनि बन्द गरिएका छन्। सोमबारसम्म सबै सरकारी कार्यालयहरूमा पनि बिदा दिइएको छ । प्रधानमन्त्री शेख हसिना हिंसात्मक प्रदर्शनमा उत्रिएकाहरू विद्यार्थी नभई आतंककारी रहेको बताएकी छन् ।
आइतबारको प्रदर्शनपछि सुरक्षाका सबै निकाय प्रमुखहरूसँगको छलफलमा उनले प्रधानमन्त्रीको राजीनामा मागेर हिंसात्मक प्रदर्शन गर्नेहरू आतंककारी रहेको बताउँदै यस्ता प्रवृत्तिविरूद्ध लड्न नागरिकहरूलाई आह्वान गरेकी छन् ।
वि.सं.२०८१ साउन २१ सोमवार १२:०४




















