बालकुमारी आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, डिभाइडर भत्काउँदै भाग्दै आन्दोलनकारी
वि.सं.२०८० पुस १३ शुक्रवार १४:१७
2.2K
shares
काठमाडौं: ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो ।
किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले घाइते भएर ल्याइएका एक पुरुष घाइतेको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे । मृतकको पहिचान खुल्न बाँकी रहेको उनले बताए । आन्दोलन गरेका प्रदर्शनकारी अराजक बनेपछि प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले अश्रुग्याँस प्रहार गर्दै उनीहरूलाई लखेटिरहेको छ भने आन्दोलनकारी पनि सडकमा अराजकता मच्चाउँदै भागिरहेका छन् ।
प्रहरीले आन्दोलनकारीलाई लखेट्दै ग्वार्कोबाट ललितपुरको एकान्तकुना ल्याएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै आन्दोलनमा उत्रिएका युवाहरूले यसअघि बालकुमारीस्थित सडकमा मन्त्रीको गाडीमा आगो लगाएका थिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा प्रदर्शनकारीले आगो लगाएका हुन् । प्रदर्शनका क्रममा भएको झडपमा केही घाइते समेत भएको बताइएको छ ।
वि.सं.२०८० पुस १३ शुक्रवार १४:१७




















