विश्वकप फुटबल छनोटमा नेपालले आज यूएईसँग खेल्दै
वि.सं.२०८० कात्तिक ३० बिहीवार ०८:४२
2.3K
shares
काठमाडौं: विश्वकप फुटबलको एसियाली छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । समूह ‘एच’ अन्तर्गत नेपालले अवे म्याचको रुपमा यूएईसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार राति ९:३० बजे हुनेछ ।
नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले यूएईसँगको खेलमा तीन नयाँ खेलाडीलाई लिएका छन् । जसमा डिफेन्समा योगेश गुरुङ, मिडफिल्डरमा निशान हमाल र फरवार्डमा राजेश परियार छन् । चोटका कारण डिफेन्डर अनन्त तामाङ टिममा छैनन् । सबैको नजर भने फरवार्ड अन्जन विष्टमा हुनेछ । अन्जनसँग नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान बनाउने अवसर छ । उनले विश्वकप छनोटको पहिलो चरणमा लाओसविरुद्ध गोल गर्दै नेपालका लागि १३ गोलको कीर्तिमान बराबरी गरेका थिए ।
यूएईविरुद्ध खेल्दै गर्दा नेपाली टिम कम्तिमा अंक जोड्ने लक्ष्यमा हुनेछ । प्रि म्याच कन्फरेन्समा प्रशिक्षक एनिसले यूएई बलियो टिम भएपनि आफुहरु नडराएको बताएका छन् । उनले यूएईविरुद्ध उत्कृष्ट प्रर्दशनको बाचा गरेका थिए । समूह ‘एच’मा विजेता बन्ने दाउमा रहेको यूएई भने हाइ प्रोफाइलका प्रशिक्षक पाउलो बेन्टोको नेतृत्वमा मैदान उत्रनेछ ।
पोर्चुगलका पूर्व प्रशिक्षक समेत रहेका बेन्टोले यसअघि दक्षिण कोरियालाई कतार विश्वकपको अन्तिम १६ सम्म पुर्याएका थिए । त्यसपछि बेन्टो यूएईलाई नेतृत्व गर्न आएका हुन् । उनी प्रशिक्षकको रुपमा आएपछि यूएईले खेलेको तीन मैत्रीपूर्ण खेलमा जित हासिल गरेको छ । जसमा कोस्टारिका, कुवेत र लेबनानविरुद्ध रहेका छन् ।
वि.सं.२०८० कात्तिक ३० बिहीवार ०८:४२



















