समूह विजेताका लागि नेपाल र ओमानबीच प्रतिष्पर्धा हुँदै
वि.सं.२०८० कात्तिक १६ बिहीवार ०७:२९
3.3K
shares
काठमाडौं: घरेलु टोली नेपालले आज आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमानसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।
समान दुई खेलमा ४ अंक भएपनि ओमान नेट रनरेटका कारण ओमान शीर्षस्थानमा छ । दुबै टोली समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेका छन् । आजको खेलको समूह विजेताले समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनल शुक्रबार खेल्नेछ । त्यसैले नेपालको लागि यो खेल निकै महत्वपूर्ण छ ।
नेपाल ओमानलाई हराउँदै समूह विजेताको रुपमा सेमिफाइनल खेल्न चाहन्छ । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गर्नसक्छ । विवेक यादवलाई बेन्चमा राखेर विनोद भण्डारीलाई मैदान उतार्न सक्छ । दीपेन्द्रसिंह ऐरी घाइते भएपछि विवेकलाई नेपालले मौका दिएको थियो । विवेकले मलेसियाविरुद्ध २ रन बनाउँदा अन्य खेलमा ब्याटिङ र बलिङ दुबैमा मौका पाएका छैनन् ।
कुशल मल्ल र कुशल भुर्तेल नेपालका प्रमुख टि-२० खेलाडी हुन् । यी दुई खेलाडीको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । यी दुई खेलाडी चलेको खण्डमा नेपालले सहज जित हात पार्नसक्छ । उता ओमानका तीव्र गतिका बलर बिलाल खान र फयाज बटबाट नेपाल सुरुवातमा केहि संयमित हुनुपर्छ । दुबैमा राम्रो अनुभव छ । आसिफ शेख खुलेर खेल्न केहि संघर्ष गरेका छन् । सेमिफाइनल अघि नेपाल आसिफबाट पनि ठूलो इनिङ चाहन्छ । सुरुवाती दुई खेलमा नेपालका तीव्र गतिका बलरले पावर प्लेमा राम्रो सुरुवात गरेका छैनन् ।

स्पिनर सन्दीप लामिछानको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । पावर प्लेमा करण र सोमपालको जोडीले विकेटतर्फ ध्यानदिनुपर्ने हुन्छ । डेथ ओभरमा अभिनाश बोहराले राम्रो प्रदर्शन गर्दै आएका छन् । ओमानका अकिब इल्यास प्रमुख हतियार हुन् । उनलाई चाँडै आउट गर्न सके नेपालले जित सहज बनाउन सक्छ । अनुभवी कप्तान जिशान मकसुदले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् । नेपाल र ओमानबीच टि-२० आईमा चार खेल भएका छन् । ओमान एक र नेपाल तीन खेलमा विजयी भएको छ ।
समूह ‘ए’ को अन्तिम खेलमा सिंगापुर र मलेसियाबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । यो खेल प्रतिष्ठाको लडाई मात्रै हुनेछ । मुलपानी क्रिकेट मैदानमा आज हुने दुबै खेल निकै महत्वपूर्ण हुनेछन् । पहिलो खेलमा युएई र हङकङबीच प्रतिस्पर्धा हुनेछ ।
वि.सं.२०८० कात्तिक १६ बिहीवार ०७:२९




















