लाओससँग नेपाल बराबरी: अञ्जनले गरे १३ गोलको कीर्तिमान बराबर
वि.सं.२०८० असोज २६ शुक्रवार ०६:१२
1.7K
shares
काठमाडौं: नेपाली फरवार्ड अन्जन विष्टले अन्तर्राष्ट्रिय फुटबलमा १३ गोलको कीर्तिमान बराबर गरेका छन् । राष्ट्रिय फुटबल टिमबाट हरि खड्का र निराजन रायमाझीले राखेको १३ गोलको कीर्तिमानलाई अञ्जनले बराबरी गरेका हुन् ।
बिहीबार लाओसविरुद्ध विश्वकप फुटबलको छनोट खेलमा अन्जनले कीर्तिमानी गोल गरेका हुन् । कर्भरबाट प्राप्त बललाई हेडमार्फत अन्जनले गोल गर्न सफल भए । योसँगै अन्तर्राष्ट्रिय फुटबलमा नेपालबाट सर्वाधिक १३ गोल गर्ने सूचीमा निराजन रायमाझी र हरी खड्कासँग अन्जन समेत समावेश भएका छन् ।
विष्टको बराबरी गोलको कीर्तिमानीसँगै नेपालले विश्वकप छनोट अन्तर्गत पहिलो चरणको पहिलो लेगमा लाओससँग १–१ गोलको बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि अन्जनले गोल गर्दा लाओसका लागि कप्तान बौनफाचन बौनकोङले गोल गरेका थिए । पहिलो हाफमा पछि पारेपछि नेपालले दोस्रो हाफको सुरुवातमा नै खेलमा बराबरी गरेको थियो ।
पहिलो चरणको विश्वकप छनोट दुई लेगको फर्म्याटमा खेलाइनेछ । एसियाली टोलीहरु मध्येको वरियतामा सबैभन्दा तल रहने २० टोली पहिलो चरण खेल्दै छन् । नेपाल र लाओसबीचको दोस्रो लेग असोज ३० गते लाओसमा हुनेछ । दुई खेलमा अघि रहने टोली छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।
वि.सं.२०८० असोज २६ शुक्रवार ०६:१२



















