माल्दिभ्समाथि सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा
वि.सं.२०८० असोज ८ सोमवार १५:३३
2.3K
shares
काठमाडौं: घरेलु टोली नेपालले साफ यू-१९ च्याम्पियनसिपमा माल्दिभ्समाथि सानदार जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह ‘ए’ को अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ४-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । समूह ‘ए’ बाट पाकिस्तान समूह विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । नेपालको जितमा समिर तामाङले दुई, प्रशान्त लक्सम र निराजन धामीले एक एक गोल गरे ।
नेपालले १७औं मिनेटमा पहिलो गोल गरेको थियो । यस प्रतियोगितामा पहिलो पटक सुरुवात-११ मा स्थान बनाएका प्रशान्त लक्समले पहिलो गोल गरेका थिए । दोस्रो गोल समीर तामाङले गर्दै अग्रता बढाएका थिए ।
नेपालले १७औं मिनेटमा खेलमा अग्रता लिएको थियो । लक्समले बक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो । ३० औं मिनेटमा नेपालको अग्रता दोब्बर भयो । निराजन धामीको पासमा समीर तामाङले गोल गरेका थिए ।
खेलको ३४औं मिनेटमा दुवै टोलीका खेलाडीले रातो कार्ड खाएपछि १०-१० जनामा सीमित हुन पुग्यो । माल्दिभ्सका कप्तान मोहम्मद हसन र नेपालका सुजन डंगोल रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दुवै टोली १० जनामा खेल्नु परेको थियो ।
नेपालको लागि तेस्रो गोल ८८औं मिनेटमा निराजन धामीले गरेका थिए । प्रशान्तको कटिइनमा निराजनले ६ ट्यापिङ गर्दै जित पक्का गरे । अतिरिक्त समयको चौथो मिनेटमा समिरले गोल गर्दै नेपाललाई सानदार जित दिलाए । नेपालले सेमिफाइनलमा समूह ‘बी’ को विजेतासँग खेल्नेछ । भारत र भुटानबीच समूह विजेता बन्न ५:३० मा खेल हुँदैछ ।
वि.सं.२०८० असोज ८ सोमवार १५:३३



















