प्रधानमन्त्री र गृहमन्त्रीलाई गगन थापाको प्रश्न: ‘कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ, के हामीले एक्लै हिँड्न नमिल्ने भएको हो ?
वि.सं.२०८० भदौ २१ बिहीवार १४:१४
2.8K
shares
काठमाडौं: नेपाली कांग्रेसका सांसद गगन थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको गहिरो अनुसन्धानको माग गरेका छन् ।
प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले सार्वजनिक कार्यक्रमबाट निस्कने बित्तिकै खुकुरी प्रहार भएको घटनाको सबै पक्षबारे राम्ररी अनुसन्धान हुनुपर्ने माग गरेका हुन् । कार्यक्रममा महेन्द्र यादवले के बोलेका थिए भन्ने विषयलाइ ल्याएर घटनालाई सामान्य बनाउन खोजिएको भन्दै थापाले विरोध जनाएका हुन् ।
‘कसैलाई मन नपर्ने कुरा बोल्दैमा सांघातिक आक्रमण गर्ने कुरालाई जायज ठहर्याउन सक्छ ?’ कांग्रेस महामन्त्रीसमेत रहेका थापाले भने । उनले काठमाडौंमा एक्लै हिँड्न मिल्ने नमिल्नेबारे गृहमन्त्रीलाइ प्रश्न समेत गरे । ‘कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ, के हामीले एक्लै हिँड्न नमिल्ने भएको हो ?,’ उनले भने, ‘काठमाडौंमा संविधानसभाको सदस्य भएको व्यक्ति सार्वजनिक कार्यक्रममा सहभागी भएर आउँदै गर्दा उ सुरक्षित छैन भने प्रधानमन्त्री र गृहमन्त्रीलाई यो विषयले पोल्नु पर्छ कि पर्दैन ?’
थापाले समाजको असन्तुष्टिलाई देखाएर समाजमा हिंसालाई प्रोत्साहन गर्ने अभिव्यक्ति, घटना वा हिसांत्मक गतिविधिहरूलाई कुनै न कुनै तरिकाले प्रश्रय दिन नहुने बताए । उनले असन्तुष्टीलाई सम्झाएर भन्दा असन्तुष्टलाई भजाएर अराजकता मच्चाउने पहलकदमी भइरहेको छनक देखिएको बताए । विभिन्न कार्यक्रमहरूमा प्रधानमन्त्री र गृहमन्त्रीले ठूला ठूला भाषण मात्रै गरेर नहुने थापाको भनाइ छ ।
वि.सं.२०८० भदौ २१ बिहीवार १४:१४




















