पाँच एआईजीको सरुवा, को कहाँ पुगे ?
वि.सं.२०८० भदौ २ शनिवार १२:२३
1.6K
shares
काठमाडौं: नेपाल सरकारले ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा गरेको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्यविभागमा सरुवा गरिएको छ ।
प्रशासन विभागका एआईजी दीपक थापालाई उपत्यका प्रहरी कार्यालयमा ल्याइएको छ । थापाको स्थानमा कार्यविभाग प्रमुख मीरा चौधरीलाई पठाइएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी टेकप्रसाद राईलाई मानवस्रोत विभाग लगिएको छ । मानवस्रोत विभागका एआईजी सन्दीप भण्डारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान पठाइएको छ ।
तीन एआईजीहरू केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख किरण बज्राचार्य, प्रदेश समन्वय विभागका सुदीप गिरी र अपराध अनुसन्धान विभागका टेकबहादुर तामाङलाई भने यथावत राखिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मातहत प्रहरीसँग समन्वय गरिरहेका ज्ञवालीको भूमिकालाई लिएर सत्तारुढ दल कांग्रेसका सभापति शेरबहादुर देउवाले नै असन्तुष्टि जनाएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवासमेत ज्ञवाली सरुवा गर्न चाहेका थिए ।
उपत्यका प्रहरी कार्यालय प्रमुख ज्ञवाली, काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्की र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसी भुटानी शरणार्थी प्रकरणको समग्र अनुसन्धान प्रक्रियामा सामेल प्रहरी अधिकारी हुन् । केसीलाई पनि सरुवाको तयारी गरिएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनको पनि केही दिनमा सरुवा हुँदैछ ।
वि.सं.२०८० भदौ २ शनिवार १२:२३




















