कतार प्रहरीमा जागिर लगाउने भन्दै ठगी
वि.सं.२०८० वैशाख ९ शनिवार ०७:५३
3.4K
shares
काठमाडौं: वैदेशिक रोजगार अन्तर्गत कतारको प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर एक व्यक्तिले १८ जनाको ६३ लाख रुपैयाँ ठगी गरेका छन् ।
६३ लाख रुपैयाँ ठगेर फरार भएका सप्तरीको कञ्चनपुर घर भई हाल टोखा बस्ने पूर्णकुमार दाहाललाई पक्राउ गरेर कारबाही थालेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
उनका अनुसार दाहालले कतारको प्रहरीमा रोजगारी पाइने र त्यसका लागि सात लाख लाग्ने भन्दै रकम ठगेका थिए । दाहालले यसरी रकम ठगी गर्दा त्यहाँको प्रहरीमा जागिर भएपछि मासिक एक लाख रुपैयाँ कमाइ हुने लोभ देखाएका थिए ।
पीडितको उजुरीपछि वैदेशिक रोजगार विभागबाट पक्राउ गरीदिन माग भएअनुसार खोजीका लागि खटिएको प्रहरीले उनलाई बिहीबार राति झापाबाट पक्राउ गरी अनुसन्धानका लागि आजै वैदेशिक रोजगार विभाग काठमाडौं पठाएको राठौरले जानकारी दिए ।
वि.सं.२०८० वैशाख ९ शनिवार ०७:५३




















