नेपालले पायो स्कटल्यान्डबाट २१३ रनको लक्ष्य
वि.सं.२०७९ फागुन ९ मंगलवार १२:४०
1.6K
shares
काठमाडौं: टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले त्रिदेशीय एकदिवसी शृंखलाको अन्तिम खेलमा नेपाललाई २१३ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर २१३ रनको योगफल तयार गर्यो ।
स्कटल्यान्डका लागि ५० बलको सामना गरेका जर्ज मन्जीले ९ चौका र दुई छक्का सहित ६० रनको इनिङ खेले । यस्तै, पाँचौं नम्बरमा क्रिजमा उत्रिएका विकेटकिपर ब्याटर म्याथ्यु क्रसले ६३ बलमा चार चौका र एक छक्कासहित ४२ रन जोडे ।
त्यसबाहेक, ब्रान्डोन म्याकमुलेनले ३१, काइल कोइट्जरले २२ र क्रिस्टोफर म्याकब्राइडले २२ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
नेपालका लागि स्पीनर सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चेर सर्वाधिक चार विकेट लिए । यस्तै, ९.१ ओभरमा ४२ रन खर्चिएका करण केसीले तीन तथा ललित राजवंशी र कुशल मल्ले एक विकेट लिए ।
यसअघि शुक्रबार भएको स्कटल्यान्डविरद्धको पहिलो एकदिवसीयमा नेपालले २७५ रनको लक्ष्य पूरा गर्दै जित हासिल गरेको थियो । जारी शृंखलामा अपराजित नेपाल आजको खेल जित्दै शतप्रतिशत नतिजा निकाल्ने लक्ष्यमा छ ।
नेपाललाई विश्वकपको ग्लोबल छनोटमा पुग्न यो सहित नौ वटै खेल जित्नुपर्ने दबाब छ । नेपालले यो शृंखला लगत्तै यूएईमा घरेलु टिम र पपुवान्यूगिनीसँग अर्को शृंखला खेल्ने छ ।
वि.सं.२०७९ फागुन ९ मंगलवार १२:४०



















