माधव नेपाललाई राष्ट्रपति बन्न ओलीको प्रस्ताव
वि.सं.२०७९ फागुन ९ मंगलवार १३:१२
2.2K
shares
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीलाई एमालेमा समाहित गर्ने गरी माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने रणनीति लिएका छन् ।
एमाले अध्यक्ष ओली निकट स्रोतका अनुसार अघिल्लो हप्ता नै ओलीले अनौपचारिक प्रस्ताव नेपाललाई राखिसकेका छन् । ओलीको सोही प्रस्तावपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालबीच बाक्लो संवाद भएको छ ।
आफू निर्वाचित हुनेगरी उम्मेदवार हुन नेपालले प्रचण्डलाई मनाउन थालेका छन् । त्यही क्रममा सोमबार दिउँसो प्रचण्ड र नेपालबीच सिंहदरबारमा लामो संवाद भएको थियो । ओलीको प्रस्तावबारे अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका हुन् ।
प्रचण्डले पनि राष्ट्रपतिका लागि माधव नेपालको नाम ओलीले प्रस्ताव गरे के गर्ने भनेर कांग्रेस नेताहरूलाई सोधेको प्रसंग बाहिर आएको बताइन्छ । राष्ट्रपतिमा माधव नेपाललाई अघि सारेको अवस्थामा प्रचण्डलाई पनि सकस पर्नेछ ।
माधव नेपालले चुनाव लगत्तै एमालेनिकट नेताहरूसँग आफूलाई एमालेले राष्ट्रपति प्रस्ताव गरिदियोस् भन्ने आशय व्यक्त गरेका थिए । त्यतिबेला ओलीले पुरस्कृत गर्न सकिँदैन भन्ने जवाफ दिएका थिए ।
एकीकृत समाजवादीलाई एमालेमा समाहित गर्नेगरी उक्त प्रस्ताव अघि बढेको हो । एकीकृत समाजवादीभित्र सांसद किसान श्रेष्ठलगायतको टोलीमात्र होइन, सोमप्रसाद पाण्डे, रामकुमारी झाँक्रीसहितका नेताहरू पार्टी एकताका लागि सक्रिय रहेका छन् ।
वि.सं.२०७९ फागुन ९ मंगलवार १३:१२



















