नेपाली फुटबलको नयाँ सिजन असोजदेखि सुरु हुने
वि.सं.२०७९ साउन २७ शुक्रवार १५:०६
3K
shares
काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)को दोस्रो कार्यसमिति बैठकले ए डिभिजन लिग, नेपाल सुपर लिग (एनएसएल) लगायतकम प्रतियोगिताको मिति तय गरेको छ ।
कार्यसमितिको निर्णय अनुसार तय भएका फुटबल प्रतियोगिता असोजदेखि अर्को वर्ष असारसम्म सञ्चालन हुनेछन् ।
फुटबल सिजन ९ महिनाको भएपनि फुटबलको मेरुदण्ड मानिने ए डिभिजन लिग भने करिब तीन महिना मात्र चल्ने छ । ए डिभिजन लिग पुस ८ देखि चैत ४ गतेसम्म गर्नका लागि प्रस्ताव भएको छ ।
एन्फा निर्वाचनअघि पंकज विक्रम नेम्वाङले राष्ट्रिय लिग गर्ने आफ्नो एजेन्डा बनाएका थिए । तर एन्फाले यसबारे तत्काल भने केही निर्णय गरेको छैन ।
गत वर्ष पनि राष्ट्रिय लिग गर्ने भनिको थियो, तर आयोजना हुन सकेन ।
मंसिरमा कतारमा विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप हुँदैछ । नेपाल सुपर लिगको दोस्रो संस्करण पनि आयोजना गर्नुपर्ने भएकोले यस पटक ए डिभिजन लिग पुसमा सुरु गर्न गर्न लागिएको हो ।
फुटबलको सिजनको पहिलो प्रतियोगिताको रुपमा असोज १ गतेदेखि सी डिभिजन लिगको छनोट सुरु हुनेछ । असोज ३० गतेसम्म चल्ने छनोटमा सहभागी टिमको आधारमा आयोजना स्थल तोकिने एन्फाले जनाएको छ ।
त्यसअघि भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौँमा छैटौं साफ महिला च्याम्पियनसिप आयोजना हुनेछ ।
साफ च्याम्पियनसिप सकिएपछि राष्ट्रिय महिला लिगाको दोस्रो चरणका खेलहरु विराटनगरमा गर्ने एन्फा कार्यसमिति बैठकले निर्णय गरेको छ ।
असोज ३ गते साफ च्याम्पियनसिप सकिनेछ । असोजकै २३ गतेदेखि नेपाल सुपर लिगका लागि मिति उपलब्ध गराउने पनि एन्फाले निर्णय गरेको छ ।
बंगलादेशसँग मैत्रीपूर्ण खेल
नेपालले असोज दोस्रो साता घरेलु मैदानमा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ । असोज ११ गते दशरथ रंगशालमा नेपाल र बंगलादेशबीच खेल हुनेछ ।
एन्फा कार्यसमिति बैठकको मैत्रीपूर्ण खेल खेल्ने निर्णय पारित गरेको छ ।
बंगलादेशसँगको मैत्रीपुर्ण खेलको लागि कार्यवाहक मुख्य प्रशिक्षकका रुपमा प्रदिप हुमागाईंलाई मनोनयन गर्ने निर्णय पनि बैठकले पारित गरेको छ ।
नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिरामीका कारण बिदामा आफ्नै देश कुवेतमा रहेकोले एन्फाले मैत्रीपूर्ण खेलका लागि नयाँ प्रशिक्षक तोकेको हो ।
एनएसएल असोज अन्तिमदेखि
फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) का लागि एन्फा कार्यसमितिले असोज २३ गतेदेखिको मिति उपलब्ध गराएको छ ।
तर त्यसअघि एन्फा र एनएसएल आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)सँगको यसअघिको त्रुटिपूर्ण सम्झौता खारेज गरी नयाँ सम्झौता नवीकरण गरेर एनएसएल गर्ने कार्यसमितिले निर्णय गरेको छ ।
‘नेपाल सुपर लिगको बारेमा विगतमा गरिएको त्रुटिपूर्ण सम्झौता खारेज गरि सम्बन्धित पक्षसँग छलफल गर्न एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ्गको संयोजकत्वमा एन्फा उपाध्यक्षद्वय दिपक खतिवडा, कुमार केसी र सदस्यहरु टिकाराम लामा, मनीराज विष्ट, रविन्द्र चन्द र पुरुषोत्तम थापा सदस्य र महासचिव किरण राई सदस्य सचिव रहने गरी ७ सदस्यीय सम्झौता नववीकरण समिति निर्माण गरि, सम्झौता नविकरण गरि २०७९ आश्विन २३ देखि मंसिर २ गतेसम्म एनएसएल संचालनका लागि समय उपलब्ध गर्ने निर्णय गरियो ।’
वि.सं.२०७९ साउन २७ शुक्रवार १५:०६




















