उच्च अदालत पोखराले पनि जिल्लाकै निर्णयलाई सदर गरेपछि नायक पल शाह थचक्क
वि.सं.२०७९ जेठ २० शुक्रवार १६:०६
2.7K
shares
काठमाडौं: पुर्पक्षका लागि कारागारमा रहेका पल शाहको मुद्धामा उच्च अदालत पोखराले जिल्लाकै निर्णयलाई सदर गरेपछि नायक पल शाहलाई आपत परेको छ ।
उनी अब सर्बोच्च अदालत नगई जिल्लाकै फैसलालाई कुर्ने भएका छन् । एक नाबालिग गायिकाले जबर्जस्ती करणी गरेको भन्दै मुद्धा हालेपछि पल अहिले कारागारमा रहेका छन् ।
जिल्ला र उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत जान सकिने व्यवस्था रहेपनि समय लाग्ने भएपछि अब फैसला नै कुर्ने निर्णय गरेको पलका कानुन व्यवसायीले बताएका छन् ।
सर्बोच्चमा जाँदा जिल्लाको निर्णय ढिला हुने अवस्था आएकोले सर्बोच्चमा अहिल्यै नजाने निर्णय पलपक्षले गरेका हुन ।
एक नाबालिगले बलात्कारको आरोप लगाएपछि गत फागुन १५ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा आफै उपस्थित भएका शाहलाई त्यहाँको जिल्ला अदालतले चैत ११ गते मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
नाबालिगले पूर्वी नवलपरासी प्रहरीमा पनि जाहेरी दिएकामा त्यहाँको अदालतले पनि शाहलाई थुनामा पठाउने आदेश गरेको थियो । दुवै अदालतमा पीडित र जाहेरवालाले बयान फेरेपछि शाह छुट्न सक्नेमा उनका कानून व्यवसायीहरू आशावादी देखिएका थिए ।
उच्च अदालत पोखराका न्यायाधीशहरू उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालतले नै टेकेका आधारहरूलाई टेक्दै आदेश सदर भएको जनाएको छ । अदालतमा पीडित भनिएकी युवती र जाहेरवालाले बयानलाई इजलासले बेवास्ता गर्दै त्यसलाई फैसलाकै क्रममा हेरिनुपर्ने आदेशमा उल्लेख गरेको छ ।
अदालतमा प्रमाण बुझ्ने काम अन्तर्गत पूर्वी नवलपरासी अदालतमा एक जना चिकित्सक र एक जना मौकामा कागज गर्ने व्यक्तिको मात्र बकपत्र हुन बाँकी छ । त्यसका लागि जेठ ३१ गते पेशी तोकिएको छ ।
यस्तै तनहुँ जिल्ला अदालतमा एक जना डाक्टर र मौकामा कागज गर्ने १४ जनाको बकपत्र हुन बाँकी छ । बकपत्रका लागि जेठ २३ गतेलाई पेशी तोकिएको छ ।
बकपत्रको काम सकिएपछि फैसलाका लागि सबै अंग पुग्छ । दुवै घटनामा सरकारी वकिलले शाहविरुद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय माग गरेका छन् ।
वि.सं.२०७९ जेठ २० शुक्रवार १६:०६



















