रामेछाप वन कार्यालयमा कर्मचारी अभाव हुँदा काम गर्न समस्या
वि.सं.२०७९ जेठ २० शुक्रवार १५:२९
3.3K
shares
रामेछाप: डिभिजन वन कार्यालय रामेछापमा कर्मचारी अभावका कारण काम गर्न समस्या भएको छ ।
कार्यालयमा दैनिक कार्य सञ्चालनका लागि ४५ जना कर्मचारीको दरबन्दी भएपनि अहिले १४ जना मात्र कर्मचारी हुँदा काम गर्न समस्या भएको हो ।
कर्मचारी अभावका कारण वन रेखदेखदेखि लिएर दैनिक प्रशासनिक काममा समेत समस्या हुने गरेको डिभिजन वन कार्यालय रामेछापले जनाएको छ ।
डिभिजन वन कार्यालयका अतिरिक्त ६ वटा सव डिभिजन वन कार्यालय मार्फत जिल्लाभरिको वन सम्बन्धि काम हुने गरेको छ । अहिले जिल्लामा ९ जना अधिकृत स्तरको कर्मचारीको दरबन्दी रहेको भएपनि कार्यालयमा भने ३ जना मात्र कार्यरत भएको वन अधिकृत रामकृष्ण के.सी. बताउँछन् ।
यसैगरी जिल्लामा २५ जना वन रक्षकको दरबन्दी भएपनि अहिले ९ जना मात्र कार्यरत रहेका छन् । कार्यालयको प्रशासनमा २ जनाको दरबन्दी रहेकोमा अहिले १ जना मात्र कार्यरत छन् । उनी पनि सरुवा भएर हिड्न लागेको कार्यालयले जनाएको छ ।
कार्यालयमा २ बर्षदेखि लेखापाल नहुँदा निकै समस्या भएको डिभिजन वन अधिकृत के.सी. बताउँछन् । अहिलेसम्म कार्यालयले अन्य कार्यालयबाट आएका लेखापालबाट काम चलाएको भएपनि यो निकै कठिन भएको कार्यालयका कर्मचारीहरु बताउँछन् ।
मुलुक संघियतामा गएसँगै ५ बर्ष अगाडिबाट शुरु भएको कर्मचारी अभावको समस्या अहिले ५ बर्ष पछि पनि जस्ताको तस्तै भएको डिभिजन प्रमुख के.सी बताउँछन् । करारमा ल्याइएका केहि व्यक्तिबाट तत्कालको लागि काम टार्ने गरेको भएपनि यो समस्याले दैनिक कार्य संचालनमा समेत निके प्रभाव पारेको कार्यालयको अनुभव रहेको छ । कर्मचारी अभावका कारण सेवा लिन समेत समस्या भएको खाँडादेवी ५ का अर्जुन वि.क.ले बताउँछन् ।
रामेछाप जिल्लामा कुल क्षेत्रको ४३ प्रतिशत क्षेत्र वन क्षेत्र रहेको छ । यहाँ सामुदायिक, कबुलियती, धार्मिक, सरकारद्धारा व्यबस्थित गरी ४ प्रकारका वन रहेका छन् । यसको अतिरिक्त जिल्लाको उमाकुन्ड गाउँपालिकामा संरक्षण क्षेत्र समेत रहेको छ ।
ठुलो कार्य क्षेत्र र सिमिति कर्मचारीका कारण काम गर्न समस्या भएको वन कर्मचारीहरुको गुनासो छ । डिभिजन कार्यालयले कर्मचारी अभावका विषयमा पटक-पटक आफ्नो माथिल्लो निकायमा जानकारी गराएको भएपनि समस्या समाधान हुन नसकेको जिल्ला वन कार्यालय रामेछापका डिभिजन वन अधिकृत के.सी बताउँछन् ।
वि.सं.२०७९ जेठ २० शुक्रवार १५:२९



















