पोखराबाट जोमसोम जाने क्रममा तारा एयरको विमान सम्पर्क विहिन, विमानमा १६ नेपाली र ६ विदेशी
वि.सं.२०७९ जेठ १५ आइतवार १३:४०
2.9K
shares
काठमाडौं: पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ ।
प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो । खोजी कार्य जारी रहेको छ ।
९ एन-एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ । जहाजमा चालकदलका ३ सदस्य पनि छन् ।
जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । जहाज ९ बजेर ५५ मिनेटमा उडेको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्पर्क विहीन रहेको तार एयरको टुविन्अटर ‘नाइन एनएइटी’ जहाजको खोजी कार्यमा मौसम बाधक बनेको जनाएको छ ।
प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै प्रतिकुल मौसमका कारण खोजीमा गएको फिस्टेल एयरको हेलिकप्टर पुनः जोमसोम फर्किएको बताएको छ ।
‘काठमाडौं, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धार कार्यको लागि थप हेलिकप्टरहरु स्ट्याण्ड बाई रुपमा रहेकोले मौसममा सुधार आउनासाथ हवाईमार्गबाट खोज कार्य पुनः सुरु गरिनेछ । स्थलमार्गबाट खोजी कार्य गर्न नेपाली सेना र नेपाल प्रहरी समेत त्यस तर्फ प्रस्थान गरिसकेको व्यहोरा जानकारी गराइन्छ,’ प्राधिकरणले विज्ञप्तिमा भनेको छ।
वि.सं.२०७९ जेठ १५ आइतवार १३:४०




















