९ महिनामा ३ बैंकले कमाए ३ अर्ब बढी नाफा
वि.सं.२०७९ वैशाख ७ बुधवार १४:४७
2.5K
shares
काठमाडौं: २७ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
बैंकहरुले प्रकाशित गरेको विवरण अनुसार ९ महिनाको अवधिमा ३ वाणिज्य बैंकले ३ अर्ब बढी नाफा कमाएका छन । बैंकको समग्र नाफा ०.५४ प्रतिशतले मात्र बढेको छ ।
बैंकिङ क्षेत्रमा तरलता अभाव जारी रहदा बैंकहरुको नाफा वृद्धि कमजोर देखिएको छ । अधिकांश बैंकले आधार दर बढाएर ब्याज आम्दानी बढाएपनि नाफादर भने बढाउन सकेका छैनन् ।
चालु आर्थिक वर्षको ९ महिना अर्थात् चैत मसान्तसम्ममा २७ बैंकहरुले कुल ५१ अर्ब १ करोड ७८ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
जसमध्ये सर्वाधिक नाफा कमाउनेको अग्रपंक्तिमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबल आइएमई बैंकलाई एनआसी एशिया बैंकले पछ्याएको छ ।
समीक्षा अवधिसम्म ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी नाफा आर्जन गरेको छ । बैंकले ३ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१३ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ५७ करोड नाफा कमाएको थियो ।
तीन अर्ब बढी नाफा कमाउनेको सूचीको दोस्रो स्थानमा भने एनआईसी एशिया बैंक रहेको छ । एनआईसी एशियाले ३ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.९६ प्रतिशत बढी हो । बैंकले गत वर्षको यहि अवधिमा ३ अर्ब ४८ लाख नाफा कमाएको थियो ।
तेस्रो स्थानको नबिल बैंकले ३ अर्ब ३५ करोड २० लाख कमाएको छ । नबिल बैंकको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ८.९१ प्रतिशतले घटेको हो ।
गत वर्षको यसै अवधिमा नबिलले ३ अर्ब ६७ करोड नाफा कमाएको थियो । नबिलको नाफा घटेपछि आइएमई र एनआईसी एशिया बैंकले पछि पारेका हुन ।
गत वर्षको यसै अवधिमा नबिल धेरै नाफा कमाउनेको पहिलो नम्बरमा थियो ।
वि.सं.२०७९ वैशाख ७ बुधवार १४:४७



















