निरन्तर एमालेको अवरोधकाबीच आज प्रतिनिधिसभा बैठक बस्दै
वि.सं.२०७८ पुस ६ मंगलवार ०८:५०
1.6K
shares
काठमाडौं: नेकपा एमालेको निरन्तर प्रतिनिधिसभा बैठक अवरोधकाबीचमा पनि आज प्रतिनिधि सभाको बैठक बस्दै छ ।
संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ । बैठकका लागि सम्भावित चार कार्यक्रम तय गरिएको छ ।
संसद् सचिवालयका अनुसार सम्भावित कार्यसूचीमा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्र प्रसाद बडुले ‘यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश २०७८’ र ‘फैजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछ। यस्तै सांसद प्रेम सुवालले उक्त दुवै अध्यादेश ‘अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्नेछन् ।
यसैबीच बहुचर्चित अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) भने आजको बैठकको सम्भावित कार्यसूचीमा छैन ।
संसदका नियमित कार्यसूचीबारे भने आजै बिहान बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले निश्चित गर्नेछ ।
प्रतिनिधि सभाको बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ ।
सोमबार बसेको पाँच दलीय गठबन्धनको बैठक र सर्वदलीय बैठकमा एमसीसी संसदमा पेस गर्नेबारे सहमति हुन सकेको थिएन ।
वि.सं.२०७८ पुस ६ मंगलवार ०८:५०




















