कोभिड-१९ बाट युरोप र एसियामा मार्चसम्म थप ७ लाख मानिसको मृत्यु हुने डब्लूएचओको प्रक्षेपण
कोभिडका कारण अहिलेसम्म युरोपमा १५ लाखभन्दा बढी मानिसको मृत्यु
वि.सं.२०७८ मंसिर ८ बुधवार १२:०७
2.7K
shares
काठमाडौं: कोभिड-१९ को संक्रमणबाट युरोप र एसियामा मार्चसम्म थप ७ लाख मानिसको मृत्यु हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले प्रक्षेपण गरेको छ ।
सन् २०२२ को २२ मार्चसम्म ४९ देशका अस्पतालका आइसीयू बेड कोभिडका विरामीले भरिने डब्लूएचओले चेतावनी दिएको छ ।
कोभिडका कारण अहिलेसम्म युरोपमा १५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
पछिल्लो समयमा युरोपमा कोभिड संक्रमण पुनः तीव्र देखिएको छ । कोभिडकै कारण अस्ट्रियामा लकडाउन गरिएको छ भने युरोपका अन्य देशहरुले प्रतिबन्धको उपायहरु लागु गरेका छन् ।
आंशिक लकडाउन जारी भएपछि नेदरल्यान्ड्समा हिंसात्मक प्रदर्शन भएका छन् । फ्रान्स, जर्मनी, ग्रीसलगायतका केही देशले आफ्ना नागरिकलाई बुस्टर डोज दिने तयारी गरिरहेका छन् ।
युरोपमा ठूलो संख्यामा मानिसको मृत्युको मुख्य कारण कोभिड भएको डब्लूएचओले ठहर गरेको छ । युरोपमा कोभिडबाट दैनिक मृत्यु हुनेको संख्या अहिले ४ हजार २ सय नाघेको डब्लूचएओले जनाएको छ ।
अझै पनि युरोपको ठूलो जनसंख्याले खोप नलगाएको र डेल्टा भेरियन्टका कारण कोभिडबाट ज्यान जोगाउनेको संख्या बढ्दो छ ।
वि.सं.२०७८ मंसिर ८ बुधवार १२:०७


















