क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज नेपाल र ओमन भिड्दै
वि.सं.२०७८ भदौ २९ मंगलवार १२:०३
2.6K
shares
काठमाडौं: क्रिकेट विश्वकप लिग–२ (सीडब्लुसी) अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज नेपाल र ओमन आमने सामने हुँदैछन् ।
सोमवारको खेलमा अमेरिका माथि जित निकालेको नेपाली टोली आज घरेलु टोलीलाई चुनौती प्रस्तुत गर्दैछ ।
आजको खेललाई लिएर नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ओमनी टिम सन्तुलित रहेको भन्दै उनीहरुलाई घरेलु मैदानमा हराउन चुनौतीपूर्ण हुने बताए ।
उनीहरुकै कन्डिसनमा खेलिरहेका छौं ।
यो कन्डिसनमा उनीहरु पोख्त भइसकेका छन् ।
हाम्रो लागि टफ च्यालेन्ज पनि हुन्छ, कप्तान मल्लले भने, उनीहरुको टिम पनि राम्रो छ, सन्तुलित छ ।
ब्याटिङमा होस् या बलिङमा पनि मिडियम, पेस र स्पीन अट्याक पनि राम्रो छ ।
हाम्रो लागि चुनौती छ ।
हामीले अझ सुधार गर्न सक्ने हो भने हामी हराउन सक्छौं ।
अमेरिकासँगको खेलबारे प्रतिकृया दिँदै मल्लले खेलमा टीम गेम देखिनु राम्रो पक्ष भएको बताए ।
टिमको एफोर्ड राम्रो छ ।
टिममा सबैजनाले योगदान दिनु यो एकदमै राम्रो पक्ष हो ।
चाहे त्यो बलिङ होस् या ब्याटिङ सबै जनाले राम्रो गरे, कप्तान मल्लले भने, खास गरेर ब्याटिङमा रोहित, कुशल र विनोदले जसरी फिनिसिङ गरे त्यो एकदमै राम्रो थियो ।
उनले खेलबारे चर्चा गर्दै पिच राम्रो भए पनि सिंगल रन लिन भने अफ्ठ्यारो भए बताए ।
विकेट हेर्ने हो भने राम्रो छ ।
तर, आउटफिल्ड हेभ्भी छ र सिंगल्सहरु लिनको लागि अलि गाह्रो छ।
अरु प्रेसरहरु चाही गल्सले गर्दा परेको हुनसक्छ । जसरी उहाँहरुले शतक हान्नु भयो।
एकदमै राम्रो ब्याटिङ गर्नुभएको थियो, कप्तान मल्लले भने, बलरबाट सन्तुष्ट छौं ।
अलिकति कममा प्याक गर्न सकिन्थ्यो कि भन्ने होला ।
२ सय १० य २ सय भन्दा तल पनि हुन्थ्यो होला।
तर, पनि यो लेभलमा २ सय २०, २ सय ३० भइरहन्छ। त्यसका लागि तयार रहनुपर्छ जस्तो लाग्छ ।
त्रिकोणात्मक सिरिजका लागि ओमन पुगेको नेपाली टोलीले ओमनमा पपुवा न्युगिनीसँग दुईवटा अभ्यास खेल खेलेको थियो भने प्रतिस्पर्धी ओमनले मुम्बइ क्रिकेट एसोसिएसनसँग अभ्यास खेलेको थियो।
अमेरिकाले पनि पपुवा न्युगिनीसँगै दुईवटा अभ्यास खेल खेलेको थियो ।
लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको हिजो सम्पन्न अमेरिकाविरुद्धको खेलमा नेपालले ५ विकेटको जित निकालेको थियो ।
ओमनस्थित अल अमरेत स्टेडियममा सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३० रन बनाएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले कुशल भुर्तेल र रोहित पौडेलको अर्धशतकको सहायतामा ४९ ओभर सकिँदा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।
आज नेपाल ओमनविरुद्ध सवा ४ बजे मैदानमा उत्रँदै छ। खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्नेछ ।
लिग २ मा ७ वटा देशले प्रतिस्पर्धामा छन्। जसमा नेपालसहित स्कटल्यान्ड, युएई, नामिबिया, ओमन, पपुवा न्युगिनी र अमेरिका सहभागी छन्।
क्रिकेट विश्वकप लिग–२ मा १० खेल खेलेको ओमन १६ अंक जोडेर तालिकाको शीर्षस्थानमा छ भने १३ खेलबाट १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ।
त्यस्तै, ८ खेलबाट ९ अंक जोडेको स्कटल्याण्ड, ७ खेलबाट ८ अंक जोडेको नामिबिया र ७ खेलबाट ७ नै अंक जोडेको नामिबिया क्रमश तेस्रो चौथो र पाँचौ स्थानमा छन् ।
नेपाल भने ५ खेल खेलेर ६ अंक जोड्दै छैठौं स्थानमा रहँदा पपुवा न्युगिनी ८ खेल खेलेर अंकबिहीन रहँदै तालिकाको पुछारमा छ ।
२१ वटा त्रिकोणात्मक सिरिज सम्पन्न भएपछि शीर्ष तीन टिमले आईसीसी पुरुष विश्वकप क्वालिफायर्समा स्थान बनाउने छन्।
त्यस्तै, पछाडिका चारवटा टिमले क्रिकेट विश्वकप क्वालिफायर प्लेअपमा स्थान बनाउने छन्।
लिग २ मा नेपालले यसअघि पनि ओमनसँग खेलिसकेको छ ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेलेका यसअघिका दुवै खेलमा नेपाल पराजित भएको थियो।
पहिलो खेलमा ओमनसँग १८ रनको पराजय ब्यहोरेको नेपालले दोस्रो खेलमा ८ विकेटको हार ब्यहोरेको थियो ।
यो पनि पढ्नु होस्ः
वि.सं.२०७८ भदौ २९ मंगलवार १२:०३



















