प्रतिबन्धित नेकपाका नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुँदै
वि.सं.२०७७ फागुन २१ शुक्रवार ०८:३५
1.4K
shares
काठमाडौं: सरकार र विप्लव समूहबीच सहमति जुटेपछि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुँदैछन् ।
सरकारी टोली र विप्लव समूहबीच भएको वार्तामा सहमति भएपछि विशेष समारोह गरेर उक्त सहमतिहरु सार्वजनिक गर्ने र सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले समेत सम्बोधन गर्ने दुवै पक्षका वार्ता टोली संयोजकले बिहीबार जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
विप्लव समूहलाई केपी ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ को मन्त्रिपरिषद् निर्णयले प्रतिबन्ध लगाएको थियो । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरिसकेको छ ।
त्यस्तै, ‘विप्लव’ समूहका नेता–कार्यकर्तालाई शुक्रबारसम्म हिरासतबाट रिहा गर्न गृहमन्त्रालयले सर्कुलर गरेको छ । प्रमुख जिल्ला अधिकारीको आदेशमा म्याद थप गरिएका विप्लव समूहका १८ जना कार्यकर्ता प्रहरीको हिरासतमा छन् ।
बिहीबार सरकार र विप्लव समूहबीचको वार्तामा तीन बुँदे सहमतिका साथ सफलतापूर्वक टुङ्गिएको छ । यो सहमतिसँगै विप्लव समूह पनि शान्तिपूर्ण राजनीतिक गतिविधिमा आउने भएको छ । यसलाई पनि प्रधानमन्त्री ओलीको महत्त्वपूर्ण सफलताका रुपमा लिइएको छ ।
हेर्नुहोस् तपाईको आज २०७७ फागुन २१ गते शुक्रबारको तपाईको राशिफल
वि.सं.२०७७ फागुन २१ शुक्रवार ०८:३५




















