विभिन्न स्थानमा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु
वि.सं.२०७७ असोज २० मंगलवार १६:२५
1.5K
shares
काठमाडौं: ललितपुर महानगरपालिका-२ स्थित बिपि पार्कको साईडमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री नुवाकोट घर भएका ३० वर्षीय टप बहादुर तामाङको घटनास्थलमै सोमबार राति मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी ललितपुर, खुमलटारस्थित सडकमा ना।६ त ४५८२ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरमा काम गर्ने ललितपुर महानगरपालिका-१० पाटनढोका बस्ने सोलुखुम्बु भुलुङ गाउँपालिका-८ दुधकोशी घर भएका ५५ वर्षीय अर्जुन बिकको सोमबार दिउँसो मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
डडेलधुरा, गन्यापधुरा गाउँपालिका-२ रडुवागजरौला स्थित सडकमा प्रदेश ०१ ००८ प २४५२ नम्बरको मोटरसाइकल सडकबाट ६० मिटर तल खोलामा खसेर सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक डोटी दिपायल सिलगढी नगरपालिका-५ बागठाँटा बस्ने ३२ वर्षीय शंकर भुलको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीया जुनकिरी भुलको सोही अस्पतालमा उपचार भइरहेको छ ।
रामेछाप, दोरम्बा गाउँपालिका-४ सानो शैलुङस्थित सडकमा ना।७ त ८७३ नम्बरको ट्याक्टर सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना हुँदा २ जनाको सोमबार घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ट्याक्टर चालक दोरम्बा गाउँपालिका-७ पुडिटार बस्ने २७ वर्षीय पेमा लामा र ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीय फुर्वा दोर्जे लाप्साई रहेका छन् ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-८ गहतेखोलास्थित सडकमा रा।५ प ४७५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक तुलसीपुर उमहानगरपालिका-६ बस्ने २९ वर्षीय बसन्त भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पताल हुँदै थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७७ असोज २० मंगलवार १६:२५




















