शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आग्रह, तत्काल अनलाइन शिक्षा प्रणालीलाई निरन्तरता दिनु
वि.सं.२०७७ साउन ४ आइतवार २३:१७
5K
shares
काठमाडौं: निजी विद्यालयको माग सम्बोधनका लागि सरकार प्रयत्नशील रहेकाले वैकल्पिक प्रणालीको सिकाइलाई निरन्तरता दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गरी निजी विद्यालयका मागका बारेमा सरोकार भएकासँग परामर्श गरी प्राप्त सुझावका आधारमा समस्याको ठोस समाधान गरिने र हालै सार्वजनिक मौद्रिक नीतिमा शिक्षा व्यवसायीलाई समेत कर्जाको भुक्तानीको म्याद थप कर्जाको पुनर्तालिकीकरणको व्यवस्था गरिएको स्मरण गराइएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (एन प्याब्सन) ले गत असार ३१ गते संयुक्त अपिल जारी गरी अनलाइन कक्षा बापत नियमित शुल्क उठाउन नपाउँदा र शिक्षक कर्मचारीको तलब दिन नसक्दा समस्या भएकाले अनलाइन कक्षा स्थगनको घोषणा गरेका थिए ।
मन्त्रालयले गत जेठ १८ गते स्वीकृत गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ गत असार १ देखि मुलुकभर सबै विद्यालयमा लागू गराउन निर्देश गरेको थियो ।
निजी विद्यालयका दुई संस्था प्याब्सन र एनप्याब्सनले माग पूरा नभएको भन्दै साउन १ गतेदेखि अनलाइन कक्षा ठप्प पार्ने र शिक्षक–कर्मचारीलाई बेतलबी बिदा दिने निर्णय गरेका थिए ।
वि.सं.२०७७ साउन ४ आइतवार २३:१७




















