सत्तारुढ दल नेकपाको स्थायी कमिटीको बैठक आज बस्दै
वि.सं.२०७७ साउन २ शुक्रवार ०९:०६
1.2K
shares
काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक आज बस्दैछ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागपछि बढेको विवादका कारण पटक-पटक बैठक स्थगित हुँदै आएको थियो ।
असार १७ यता चार पटकसम्म स्थगित स्थायी कमिटी बैठक आज बिहान ११ बजेका लागि बोलाइएको हो । यस बीचमा शीर्ष नेताहरुले सहमतिको प्रयास गरे पनि अझै टुंगिएको छैन । सहमतिको लागि अझै केही समय लिने नेताहरुको तयारी छ ।
यसअघि पार्टी भित्रको आन्तरिक द्वन्द्व व्यवस्थापन हुन नसकेपछि अन्तिम समयमा आएर बैठक स्थगित हुने गरेको थियो । ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने प्रचण्ड–माधव नेपाल खेमाको माग छ । तर ओलीले उक्त मागलाई अस्वीकार गर्दै आएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको छलफलमा दाहाल र नेपालले राजीनामा दिन आग्रह गर्दा ओलीले आफूले राजीनामा नदिने भन्दै सकेको प्रक्रिया अघि बढाउन चुनौती दिएका थिए । ओलीको यस्तो चेतावनीपछि छलफल बिना निष्कर्ष सकिएको थियो ।
नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सुरु भएको विवाद सचिवालय, स्थायी समिति हुँदै अब केन्द्रीय कमिटीमा पुग्ने भएको छ ।
वि.सं.२०७७ साउन २ शुक्रवार ०९:०६




















