फुटबलर सागर थापासहित ६ जनाले पाए सर्वोच्चबाट सफाइ
वि.सं.२०७७ असार २ मंगलवार २२:२१
1.4K
shares
काठमाडौं: नेपाली फुटबल टोलीका तत्कालीन कप्तान सागरसहित ६ जनाले सर्वोच्चबाट सफाइ पाएका छन् । म्याच फिक्सिङको आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका राष्ट्रिय टिमका तत्कालीन कप्तान सागर थापासहित ६ जनाले सर्वोच्च अदालतबाट सफाइ पाएका हुन् ।
सर्वोच्चका न्यायाधीसद्वय आनन्द मोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको निर्णयलाई सदर गरेको हो । सर्वोच्चको फैसलासँगै सागरसहित सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाले सफाइ पाएका हुन् ।
फुटबलमा खेल मिलेमतोको आरोप लागेका एक प्रशिक्षक र फिजियोथेरापिस्ट सहित ४ फुटबलरलाई यसअघि विशेष अदालतले २०७५ जेठ २४ गते उक्त अभियोगमा निर्दोष रहेको ठहर गर्दै सफाइ दिएको थियो । विशेषको उक्त फैसलाविरुद्ध सरकारी पक्षले २०७५ मंसिर २० गते पुनरावेदन गरेको थियो ।
विशेष अदालतका न्यायाधीशहरु बाबुराम रेग्मी, प्रमोद कुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले राज्यविरुद्धको अपराध मुद्दामा उनीहरुलाई ठहर गर्ने आधार नभेटिएको भन्दै सफाइ दिने फैसला सुनाएको थियो । २०७२ कात्तिक २२ गते उक्त मुद्दा विशेषमा उनीहरु विरुद्ध मुद्दा दायर गरिएको थियो ।
महानगरीय अपराध महाशाखाको टोलीले सागरसहित ६ जनालाई २०७२ असोज २७ गते पक्राउ गरेको थियो । अदालतले सफाइ दिएपनि अखिल नेपाल फुटबल संघ (एन्फा) र एसियाली फुटबल महासंघ (एएफसी) ले उनीहरुमाथि आजीवन प्रतिबन्ध लगाइसकेको छ ।
वि.सं.२०७७ असार २ मंगलवार २२:२१



















