हिजो स्थगित भएको एन्फाको आपतकालीन केन्द्रिय कार्यसमितिको बैठक आज बस्दै
वि.सं.२०७७ असार २ मंगलवार ११:०२
1.7K
shares
काठमाडौं: अखिल नेपाल फुटबल संघ एन्फाको आपतकालिन केन्द्रिय कार्यसमितिको बैठक आज बस्दैछ । सोमबार बैठक स्थगित भएपछि एन्फाले आज २ बजे आपतकालीन कार्यसमिति बैठक आव्हान गरेको हो ।
निलम्वित मानार्थ अध्यक्ष टासी घले लगायतका बिषयमा छलफलका लागि सोमबार दिउँसो १ बजे बोलाईएको आपताकालीन बैठकमा बरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ् अनुपस्थित भएपछि स्थगित भएको थियो । आपतकालीन समितिका सदस्य नेम्वाङ स्वास्थ्यको कारण बैठकमा गएनन् । आपतकालिन समितिबाट निर्णयका लागि ५ जना सदस्य अनिवार्य उपस्थिति हुनुपर्ने प्रावधान छ ।
नेम्वाङ उपस्थित नभएपछि आपतकालीन समितिका ४ जनाले सामान्य छलफल मात्र गरेको स्रोतले बताएको छ । एन्फा कम्प्लेक्स सातदोवाटोमा आपतकालीन समितिका बाँकी सदस्यले सामान्य छलफल गरेको र केन्द्रिय कार्यसमिति बैठक बोलाईएको हो । स्रोतका अनुसार अध्यक्ष शेर्पाले मंगलबार केन्द्रीय समितिको बैठक बोलाउन प्रस्ताव गरेका थिए ।
बैठकमा मानार्थ अध्यक्षको पुनर्बहाली सहित ४ एजेण्डामा छलफल हुने तय थियो । मानार्थ अध्यक्ष घलेको पुनरवहाली सहित भक्तपुर जिल्ला फुटबल संघको सम्बन्ध, कोरोना भाइरस (कोभिड–१९) को राहत वितरण र अन्य विविध अन्तर्गत रहेका बिषयमा छलफल हुने भनिएको थियो ।
आपतकालीन समितिको बैठकले घलेलाई एन्फा फर्काउने बारे निर्णय गर्ने सम्भावना थियो । स्रोतका अनुसार राष्ट्रिय खेलकुद परिषदको दवावमा एन्फा मानार्थ अध्यक्षमा टासी घलेलाई फिर्ता बोलाउने एन्फाको तयारी थियो । अन्तर्राष्ट्रिय विभागको माग राखेर एन्फा निर्वाचनमा कर्मा छिरिङ प्यानललाई सघाएका घलेले पूर्व सहमती अनुसार पद नपाएपछि दुइपक्षीय सम्बन्धमा चिसो बढेको थियो ।
२०७५ साल पुषमा एन्फा निर्वाचनमा अनियमितता भएको भन्दै एन्फासँग असन्तुष्ट चार जिल्ला फुटबल संघले अडियो टेप सार्वजनिक गर्दा घलेले पनि साथ दिएको आरोप लगाएर माघमा एन्फाले उनको मानार्थ पदनै खारेज गरेको थियो । आफूलाई विधान विपरित कारबाही गरिएको भन्दै घलेले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । अदालतले यही बर्षको मंसिरमा उनलाई हटाउन विधानले नदिने भन्दै राखेपको रोहभरमा उनलाई पुर्नबहाली गर्नु भनेको थियो ।
यस्तै बैठकमा लामो समय देखी बिबादित बनेको भक्तपुर जिल्ला फुटबल संघमाथिको कारबाहीको प्रकृया टुंगो लगाउने भनिएको थियो । कोरोनाका कारण प्रभावित बनेको फुटबल क्षेत्रलाई राहत बाँड्ने बिषयले पनि बैठकमा छलफल गर्ने तय भएको थियो ।
वि.सं.२०७७ असार २ मंगलवार ११:०२



















