एन्फाले बोलायो सोमबार आपत्कालीन समितिको बैठक, टासी घलेको सम्बन्धमा छलफल हुने
वि.सं.२०७७ जेठ ३१ शनिवार ०९:११
1.4K
shares
काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)ले पूर्व मानार्थ अध्यक्ष टासी घलेको पुर्नःस्थापना, कोरोना प्रभावितलाई राहत बितरण लगायतका बिभिन्न बिषयमा छलफल गर्न सोमबार आपत्कालीन समितिको बैठक बोलाएको हो ।
बैठकमा पूर्व मानार्थ अध्यक्ष घलेका सम्बन्धमा छलफल हुने जनाईएको छ । प्राप्त जानकारी अनुसार उनको एन्फामा पुनरागम लगभग निश्चित भएको छ । स्रोतका अनुसार घलेलाई मानार्थ अध्यक्षमा फिर्ता बोलाउने कि नबोलाउने भन्ने बारेमा छलफल गर्न एन्फाले बैठक बोलाएको हो । यसअघि नेतृत्वसँगको खराब सम्बन्धका कारण एन्फाबाट बाहिरिएका घलेलाई फेरि मानार्थ पदमा फिर्ता बोलाउने दवाव रहेको स्रोतले बताएको छ ।
पछिल्लो समय निरन्तर विवादमा रहेको एन्फा र आलोचित बनेका अध्यक्ष कर्माछिरिङ शेर्पाले टासीलाई मानार्थ पदमा फेरि ल्याउने संकेत दिएको कतिपयको भनाई छ । जसका लागि राष्ट्रिय खेलकुद परिषदले पनि दवाव दिएको छ । २०७५ साल माघमा एन्फाको कार्यसमिति बैठकले घलेको मानार्थ पद खारेज गरेको थियो । त्यसलगत्तै घलेले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।
एन्फाले यसअघि घलेलाई निलम्बन गरेको हो, तर निलम्बित घलेलाई फेरि एन्फामा ल्याउँदा पछिल्ला विवादहरु मथ्थर हुन सक्ने भन्दै शेर्पाले आपत्कालीन बैठकमा घलेको बिषयलाई प्रमुखताका साथ उठाउन लागेका हुन् । अन्तर्राष्ट्रिय सम्बन्धको मुख्य भुमिका आफूले पाउनुपर्ने माग सहित कर्माको परिवर्तन पक्षधरलाई एन्फा निर्वाचनमा सहयोग गरेका घले सहमति अनुसार जिम्मेवारी नपाएपछि कर्मासँग चिढिएका थिए । पछि अन्तराष्ट्रिय भुमिकाको जिम्मा नविन पाण्डेले पाएका थिए भने टासी एन्फाबाट निलबित मात्र भएका थिएनन् एन्फाले मानार्थ पद नै खारेज गरेको थियो ।
यस्तै आपत्कालिन बैठकमा कोरोना भाइरस (कोभिड–१९) को माहामारीबाट प्रभावित बनेका फुटबल क्षेत्रका ब्यक्तिहरुलाई उपलव्ध गराउने राहतका सम्बन्धमा पनि छलफल हुनेछ । एन्फाले कोरोना प्रभावित खेलाडी, प्रशिक्षक, ए, बी र सी डिभिजन क्लब, मोफसलका गोल्डकप आयोजकलाई राहत दिने बारेमा आबस्यक तयारी गरिसकेको छ । एन्फाको आपत्कालीन समितिमा अध्यक्ष कर्माछिरिङ शेर्पा सहित चार उपाध्यक्ष छन् भने महासचिव र प्रवक्ता पदेन सदस्य छन् ।
वि.सं.२०७७ जेठ ३१ शनिवार ०९:११




















