मन्त्रिपरिषद बैठक आज बस्दै, जारी लकडाउन सहज बनाउने उपायसहितको स्वरूप परिवर्तन हुने
वि.सं.२०७७ जेठ २८ बुधवार ०८:५७
1.2K
shares
काठमाडौं: कोरोना भाइरस नियन्त्रणका लागि विगत दुई महिनादेखिको लकडाउनले जनजीवन कठिन बन्दै गएपछि सरकारले लकडाउनको स्वरूप परिवर्तन गर्ने तयारी गरेको छ । यसबारे आवश्यक निर्णय गर्न आज अपराह्न २ बजे प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद बैठक बोलाइएको छ ।
बैठकमा लकडाउनको स्वरूप परिवर्तन, जनस्वास्थ्य संकटकाल लगायतका विषयमा आवश्यक निर्णय हुन सक्ने जनाईएको छ । लकडाउन लम्बिदै गएपछि आर्थिक गतिविधि ठप्प भएको छ । जसले आममानिसको जनजीवन नै अस्तव्यस्त भएको छ । लकडाउन लम्बिदा पनि संक्रमण नघटेको र जनजीवन पनि अस्तव्यस्त भएपछि जनजीवन सहज बनाउने उपायसहित कोरोना भाइरसको संक्रमण नियन्त्रणमा राख्ने गरिएको निर्णय गर्न सरकारलाई दबाब परेको छ ।
लकडाउनको स्वरूप परिवर्तन नभइकनै ठाउँ ठाउँमा बजार पसल खुल्न थालेका छन् भने सडकमा सवारीसाधनको चाप पनि बढ्न थालेको छ । लकडाउनको स्वरूप परिवर्तनबारे जनदबाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार अर्थविद् र जनस्वास्थ्यविदहरूसँग छलफल गरेका थिए । त्यसपछिको मन्त्रिपरिषद बैठकले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटी तयार गरेर सिफारिस गर्न निर्देशन दिएको थियो ।
वि.सं.२०७७ जेठ २८ बुधवार ०८:५७




















