नेपालमा कोरोना संक्रमणबाट आठौं व्यक्तिको मृत्यु, संक्रमितको संख्या १ हजार ४ सय ६४ पुग्यो
वि.सं.२०७७ जेठ १८ आइतवार १६:०८
1.5K
shares
काठमाडौं: नेपालमा कोरोना संक्रमित आठौं व्यक्तिको मृत्यु भएको छ । बाजुरामा आज बिहान मृत्यु भएकी २ वर्षीया बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । सेती प्रदेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती बालिकाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय सुदुरपश्चिमका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ ।
उनको कोरोनाका कारण मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । यसअघि कोरोनाका कारण नेपालमा ७ जनाले ज्यान गुमाइसकेका छन् । दैलेख दुल्लुका ३५ वर्षे पुरुष, सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध र ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष र अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ एक जना पुरुष गरी ७ जनाको कोरोनाका कारण मृत्यु भइसकेको पुष्टि भइसकेको छ ।
यसैबीच नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुका दैलेखका १७ जना र कालिकोटका एक जना छन् । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजिटिभ आएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो सँगै देशभर कोरोना संक्रमितको संख्या १ हजार ४ सय ६४ पुगेको छ ।
वि.सं.२०७७ जेठ १८ आइतवार १६:०८



















