एक जिल्लाबाट अर्कोमा जान नपाइने, गृहले रद्द गर्यो पास, लकडाउन कडा बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
वि.सं.२०७७ वैशाख ३० मंगलवार २१:५४
1.3K
shares
काठमाडौं: गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी साधानका पास रद्द गरेको छ । कोरोना संक्रमितको संख्या बढेपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान पाउने गरी जारी गरेको सबै सवारी पास रद्द गरेको हो ।
मंगलबार कोरोना संक्रमितको संख्या धेरै नै बढेपछि मन्त्रालयमा बसेको बैठकले बिहीबारबाट लागू हुने गरी यस अगाडि जारी भएका सबै प्रकारका पास रद्द गर्ने निर्णय गरेको हो । लकडाउन खुकुलो बनाउँदै उद्योग, निर्माण सेवा, बैंक तथा वित्तीय संस्थामा आबद्ध भएकाले सम्बन्धित कार्यालयको पास देखाएर हिँडडुल गर्न पाएका थिए । तर अब सो सुविधा समेत रोकिएको छ ।
सरकारी कर्मचारीको हकमा सम्बन्धित मन्त्रालयको सचिवले दिएको पास र बैंक तथा वित्तिय संस्थाको हकमा राष्ट्र बैक लगायत नियमन गर्ने निकायले दिएको पास मात्र बैध हुनेछ । सञ्चारकर्मीलाई समेत सञ्चारगृहको पासमा कडाई गर्दै सूचना विभागबाट जारी पासका आधारमा मात्र हिँडडुल गर्न दिने निर्णय भएको जनाईएको छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन् । मंगलबारको मन्त्रिपरिषद बैठकमा थप संक्रमितहरु फेला पर्ने क्रम बढेको उल्लेख गर्दै यस्तो अवस्थामा लकडाउन खुकुलो पर्न नहुने बताएका हुन् । प्रधानमन्त्री ओलीले लकडाउनका बेला काठमाडौंमा सवारी जाम बढेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् ।
लकडाउन खुकुलो हुँदै जाँदा नेपालमा कोरोना भाइरसका संक्रमितहरु पनि थपिँदै गएका छन् । नेपालमा दोस्रो व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको थियो । यसबीचमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ । मंगलबार मात्रै कोरोना भाइरसका ५७ जना नयाँ संक्रमित थपिएका छन् ।
वि.सं.२०७७ वैशाख ३० मंगलवार २१:५४



















