लकडाउनको समयमा पौने तीन अर्बको औषधि आयात
वि.सं.२०७७ वैशाख २३ मंगलवार ०९:२८
1.5K
shares
काठमाडौं : लकडाउन शुरु भएपछि नेपालमा करीव पौने तीन अर्ब बराबरको तयारी औषधि आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार बन्दाबन्दीपछि हालसम्म एक अर्ब ६९ करोड ५४ लाख ४८ हजार बराबरको तयारी औषधि र ३४ करोड १९ लाख ७८ हजार बराबरको औषधिको कच्चा पदार्थ आयात भएको जनाएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार एक लाख २३ हजार ६ सय २७ मेट्रिक टन खाद्यान्न, ३५ हजार १ सय ३१ मेट्रिक टन दलहन, ५२ हजार ४ सय ७९ मेट्रिक टन तरकारी, १६ हजार ८ सय ६२ मेट्रिक टन फलफूल र ११ हजार ५९ मेट्रिक टन दुग्धजन्य पदार्थको आयात भएको छ । लकडाउनपछि खाद्य पदार्थको आयात बढेको छ । पहिलो हप्ताको तुलनामा पाँचौँ हप्तामा खाद्यान्नमा एक सय ३६ प्रतिशत र दलहन तथा गेडागुडीको आयातमा ८५ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी तरकारी र फलफूलको आयात क्रमशः ३९ र ३१६ प्रतिशतले वृद्धि भएको छ । यही अवधिमा औषधिको कच्चा पदार्थको आयात ११८ र तयारी औषधिमा ५१ प्रतिशतले वृद्धि भएको छ । भारतको पश्चिम बंगाल सरकारले आफ्ना सबै नाका बन्द गरेका कारण गत चैत २७ गतेपछि झापाको काँकडभिट्टा नाकाबाट सामान आयात निर्यात ठप्प भएको छ । भित्रिए ७ सय ट्रक बन्दाबन्दीमा वीरगञ्ज एकीकृत जाँचचौकीबाट २ सय ५६ ट्रक भित्रिएको, २ सय ४७ ट्रक बाहिरिएको र ७ सय १७ ट्रक रोकिएका छन् ।
त्यस्तै वीरगञ्ज सुख्खा बन्दरगाहबाट १ सय ८० ट्रक भित्रिएको, १ सय १२ ट्रक बाहिरिएको र दुई हजार ९ सय ४६ ट्रक रोकिएका छन् । भैरहवा नाकाबाट ७९ ट्रक भित्रिएको, १ सय ३६ ट्रक बाहिरिएको र २ सय ४९ ट्रक रोकिएका छन् । विराटनगर एकीकृत जाचँचौकीमा १ सय ४६ ट्रक भित्रिएको, १ सय ५ ट्रक बाहिरिएको र १ सय ५४ ट्रक उतै रोकिएका छन् । विराटनगर सुख्खा बन्दरगाहमा चार ट्रक र काँकरभिट्टा नाकामा २३ गरी २७ ट्रक रोकिएका छन् ।
वि.सं.२०७७ वैशाख २३ मंगलवार ०९:२८




















