भिआइपीहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सीमाक्षेत्रमा पठाउन दुवै प्रहरी प्रमुखलाई गृहमन्त्रीको निर्देशन
वि.सं.२०७७ वैशाख २ मंगलवार १६:५९
1.3K
shares
काठमाडौं: पूर्वमन्त्रीहरुले आफ्नो सुरक्षाका लागि प्रयोग गर्दै आएका सुरक्षाकर्मीलाई फिर्ता गरी सीमामा क्षेत्रमा खटाउन गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएका छन् । गृहमन्त्री थापाले सीमा क्षेत्रमा सर्तकता अपनाउनका लागि सुरक्षाकर्मी बढाउन निर्देशन दिएका हुन् । पर्साको वीरगञ्जमा तीन भारतीय नागरीकलाई कोरोना संक्रमण भएपछि थापाले तराईका सीमाक्षेत्रमा सुरक्षा सर्तकता बढाउन निर्देशन दिएका हुन् ।
गृहमन्त्री थापाले नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई बोलाएर भिआइपीहरुको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएर सिमानामा खटाउन निर्देशन दिएका हुन् । पूर्वगृहमन्त्री सहितका भिआइपीहरुले राजनीतिक पहुँच र शक्तिको आडमा प्रयोग गर्दै आएका सुरक्षाकर्मी फिर्ता गर्न गृहमन्त्रीले निर्देशन दिएको प्रेस सल्लाहकार किरण भट्टराईले बताए ।
भट्टराईका अनुसार नियम विपरीत भिआइपीहरुका पछुवाका, निजी सहयोगी र घरेलु कामदारका रुपमा प्रयोग भइरहेका सुरक्षाकर्मीलाई दुवै प्रहरी संगठन प्रमुख फिर्ता बोलाउन थालेका छन् । मन्त्रिपरिषद्बाटै निर्णय गरेर सुरक्षाकर्मीहरु लगेका भिआइपीका हकमा गृहमन्त्री थापाले आफूले आवश्यक पहल गरेर निर्णय लिने बताएका छन् ।
मन्त्रिपरिषदले पूर्व विशिष्टलाई सुरक्षाकर्मी दिने निर्णय खारेज गर्ने प्रस्ताव अघि बढाइएको छ । गृहमन्त्रीको निर्देशनपछि दुवै सुरक्षा निकायले नियमविपरीत लगिएका सुरक्षाकर्मीको तथ्यांक लिन थालेका छन् । दुवै सुरक्षा निकायका करिब तीन हजार सुरक्षाकर्मी विशिष्ट व्यक्तिको सुरक्षामा लगाइएको छ । हिमाल-पहाडबाट सिमानामा गृहमन्त्री थापाले हिमाली र पहाडी क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलको टोलीलाई सीमाक्षेत्रमा खटाउन पनि अर्को निर्देशन दिएका छन् ।
वि.सं.२०७७ वैशाख २ मंगलवार १६:५९



















