काठमाडौं उपत्यकामा आज यस वर्षकै कडा चिसो
वि.सं.२०८२ पुस २१ सोमवार १०:४४
375
shares
काठमाडौं: जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकासहित देशभर चिसो ह्वात्तै बढेको जनाएको छ । सोमबार बिहानको मापनअनुसार काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ, जसका कारण जनजीवन प्रभावित बनेको छ ।
विभागको अद्यावधिक विवरण अनुसार काठमाडौंको कीर्तिपुरमा आज बिहानको तापक्रम ३.० डिग्री सेल्सियस मापन गरिएको छ । उपत्यकाका अन्य क्षेत्रमा पनि चिसोको असर उस्तै छ । ललितपुरको खुमलटार र भक्तपुरको नगरकोटमा समान २.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ भने सिन्धुपाल्चोकको चौतारामा न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस रहेको छ ।
हिमाली भेगको जनजीवन झन् कष्टकर बनेको छ । लुक्ला विमानस्थलको तापक्रम शून्यभन्दा तल अर्थात् माइनस ०.५ डिग्री सेल्सियसमा झरेको छ । त्यस्तै, जुम्ला विमानस्थलमा माइनस ५.९ डिग्री र हुम्लाको सिमकोट विमानस्थलमा माइनस ५.१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । देशभर पश्चिमी वायुको प्रभाव र उच्च पहाडी तथा हिमाली क्षेत्रमा भएको हिमपातका कारण चिसो बढेको मौसमविद्हरूको भनाइ छ ।
वि.सं.२०८२ पुस २१ सोमवार १०:४४




















