चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ नखुल्ने

वि.सं.२०८२ भदौ ३१ मंगलवार १६:२८
480
shares
काठमाडौं: यसवर्षको दशैं, तिहार लगायतका चाडपर्वका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । मंगलबार काठमाडौंको मिन भवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा बसेको सम्बद्ध सबै पक्षको बैठकले यात्रुहरू जाने क्रम शुरु भइसकेकाले दशैंका लागि भनेर अग्रिम टिकट खुला गर्न आवश्यक नभएको निष्कर्ष निकालेका हुन् ।
जेनजीको आन्दोलनपछि विश्वविद्यालय, कलेजहरू विदा हुने र उनीहरूको घर जाने क्रम शुरु भइसकेकाले यस वर्ष दशैँलाई लक्षित गरेर अग्रिम टिकट बुकिङको व्यवस्था नगर्ने निर्णयमा पुगिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । उनले दशैंका लागि घर जानेहरूले ३-४ दिन अगाडि नै बसको टिकट लिने व्यवस्था मिलाइएको पनि जानकारी दिए ।
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा यात्रुहरूको सहज ढंगले गन्तव्यमा पुर्याउने गरी सम्बद्ध सबै पक्षसँग छलफल गरिएको बताए । बैठकमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले पनि दशैंमा यात्रुहरूलाई गन्तव्यमा पुर्याउनका लागि प्रहरीले आवश्यक सुरक्षाको व्यवस्था मिलाइसकेको बताए । प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले नेपाल प्रहरीले यात्रुहरूको सुरक्षाका लागि सहायता कक्षमा पनि प्रहरी परिचालन गर्ने बताए ।

वि.सं.२०८२ भदौ ३१ मंगलवार १६:२८