भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा अहिलेको सरकार प्रष्ट छः गृहमन्त्री लेखक

वि.सं.२०८१ कात्तिक १२ सोमवार १६:५०
765
shares
काठमाडौं: गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताएका छन् । सिंहदरबारस्थित प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले सरकार भ्रष्टाचार निवारण-नियन्त्रण, भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा प्रष्ट रहेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन गर्न भ्रष्टाचारलाई पूर्ण रुपमा निर्मूल गर्न कानुन र विधयेक प्रस्तुत गरिएको धारणा राखे ।
‘प्रस्तुत विधयेक चाँडोभन्दा चाँडो समितिबाट टुङ्गो लगाएर आगामी अधिवेशनमा पूर्णता दिने कुरामा समितिले काम गरिदेओस भन्ने सरकारका तर्फबाट आग्रह छ’, गृहमन्त्री लेखकले भने- ‘यी विधयेक प्राथमिकतामा छन्, तुरुन्त पारित गरेर कानुन बनाउनुपर्छ ।’ विधेयकलाई आउँदो अधिवेशबाट पूर्ण रुपले पारित गरेर कार्यान्वयन गर्न र प्रचलनमा ल्याउन समितिले टुङ्गोमा पुर्याएर सङ्घीय संसद्को अधिवेशनमा प्रस्तुत गर्न उनले आग्रह गरे । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन तथा भ्रष्टाचार निवारण ऐनसम्बन्धी ऐनलाई समसामयिक रुपले परिमार्जन र संशोधन गर्न विधयेकहरु प्रस्तुत गरिएका छन्’, उनले भने, ‘जुन सम्मानित समितिमा विचाराधीन छ ।’
गृहमन्त्री लेखकले भ्रष्टाचारलाई न्यूनीकरण गरेर यसमा शून्य सहनशीलताको नीति अवलम्बन गरेर मुलुकमा सुशासनको प्रत्याभूति गर्न सरकार प्रतिबद्ध रहेको बताए । ‘यी विधयेकहरु पूर्ववर्ती सरकारबाट प्रस्तुत भएका भए पनि सरकार भनेको अविछिन्न उत्तराधिकारी हो, सरकार अलग-अलग हुँदैन’, उनले भने ।

वि.सं.२०८१ कात्तिक १२ सोमवार १६:५०