शहीद स्मारक ए डिभिजन लिगमा आजबाट एघारौं चरणका खेलहरु सुरु हुँदै
वि.सं.२०७६ माघ २३ बिहीवार ०७:५०
1.2K
shares
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आजबाट एघारौं चरणका खेलहरु सुरु हुँदैछन् । आज हुने पहिलो खेलमा मछिन्द्र क्लब र सरस्वती युवा क्लब प्रतिष्पर्धा गर्दैछन् भने दोस्रो खेलमा दुई विभागीय टिम त्रिभूवन आर्मी क्लब र एपीएफ क्लब भिड्दैछन् ।
आजका दुबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ । आजको खेल चारवटै क्लबका लागि निकै महत्वपूर्ण छ । लिग उपाधि नजिक पुगेका आर्मी र मछिन्द्रका लागि जति महत्वपूर्ण छ, त्यति नै महत्वपूर्ण रेलिगेसनबाट जोगिन प्रयासरत सरस्वती र एपीएफलाई पनि छ । मछिन्द्र सरस्वतीलाई हराउँदै लिगको शीर्ष स्थानमा उक्लिने लक्ष्यमा हुनेछ । मछिन्द्रलाई हराएमा सरस्वतीको रेलिगेसनबाट जोगिने आशा हुनेछ । सरस्वतीले अंक खोस्न सफल भएमा मछिन्द्रको लिग जित्ने अभियानमा गम्भीर धक्का लाग्नेछ । मछिन्द्र २२ अंक बनाउँदै लिगको दोस्रो स्थानमा छ । चार अंक सहित लिगको पुछारमा रहेको सरस्वतीलाई रेलिगेशनबाट जोगिनका लागि मछिन्द्रलाई टक्कर दिनु जरुरी छ ।
आर्मीको अवस्था पनि उस्तै हो । यदी एपीएफसँग बराबरी वा पराजित भएको खण्डमा मछिन्द्र अघि बढ्न सक्नेछ । आर्मीको पहिलो उपाधि जित्ने अभियानमा बाधा पुग्न सक्नेछ । एपीएफ भने पाँच अंकसहित पुछारबाट दोस्रो स्थानमा छ । आज आर्मीलाई हराएको खण्डमा एपीएफको रेलिगेशनको खतरा न्यून हुनेछ ।
वि.सं.२०७६ माघ २३ बिहीवार ०७:५०




















