क्रिकेट खेलाडी संघ नेपालको आयोजनामा ‘एनसीसीएस-सिप्यान क्रिकेट अवार्ड’ हुँदै
वि.सं.२०७५ फागुन २१ मंगलवार ०९:१४
873
sharesकाठमाडौं: क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) को आयोजनामा ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ आज हुँदैछ ।
आज अपरान्ह हुने कार्यक्रममा पाँच विधामा अवार्ड प्रदान गरिने छ । पहिलो संस्करणको अवार्डमा बर्ष पुरुष क्रिकेट खेलाडी, बर्ष महिला क्रिकेट खेलाडी,उदयमान क्रिकेट खेलाडी, बर्षको उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट विधामा अवार्ड प्रदान गरिने छ ।
सिप्यानले चार विधाका लागि मनोनयमा पर्ने खेलाडीको नाम सार्वजनिक गरिसकेको छ । सिप्यानले एक प्राविधिक समिति गठन गरेर मनोनयनमा पर्ने खेलाडीको सूची सार्वजनिक गरेको हो । बर्ष पुरुष क्रिकेट खेलाडी अवार्डका लागि राष्ट्रिय टोलीका कप्तान पारस खड्कासहित दिपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने र सोमपाल कामी मनोनयनमा परेका छन् ।
यस्तै महिलातर्फ नेपाली टोलीका कप्तान रुबिना क्षेत्री बेल्बासे, इन्दु बर्मा, करुणा भण्डारी,सरिता मगर र सिता राना मगर मनोनयनमा परेकी छिन् । उदयमान क्रिकेट खेलाडीतर्फ अविनाश बोहरा, कविता कुँवर, ललित नारायण राजवंशी, रोहित कुमार पौडेल र सन्दीप जोरा रहेका छन् । यस्तै बर्षको उत्कृष्ट क्षण अवार्डका लागि १० क्षणको सूची सार्वजनिक गरिसकेको छ ।
सिप्यानले लाइफटाइम्स अचिभमेन्ट अवार्ड भने मनोनयनबिना एक जनालाई प्रदान गर्नेछ । बर्ष क्रिकेट खेलाडी पुरुषले अवार्डसँगै नगद १ लाख ३२ हजार प्राप्त गर्दा अन्य चार विधाका विजेताले समान ६६ हजार नगद पुरस्कार पाउनेछन् ।
वि.सं.२०७५ फागुन २१ मंगलवार ०९:१४