कतारविरुद्ध नेपालको रोमाञ्चक जित
वि.सं.२०८२ असोज २८ मंगलवार ०७:०१
447
shares
काठमाडौं: आइसीसी टी-२० विश्वकपको एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको खेलमा नेपालले कतारमाथि ५ रनको रामाञ्चक जित निकालेको छ ।
मध्यक्रमका ब्याटर चल्न नसक्दा नेपालले सुपर सिक्सको तेस्रो खेलमा कतारविरुद्ध लक्ष्य अनुरुपको योगफल तयार पार्न सकेन । ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा कतारले नेपालले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याउन सकेन । १३औं ओभरको समाप्तिमा कतारले दुई विकेटको क्षतिमा १०५ रन जोडेको थियो ।
सात ओभरमा कतारलाई जितका लागि ४३ रन आवश्यक रहँदा नेपालको लगभग जितको सम्भावना समाप्त जस्तै थियो । तर, सन्दीप लामिछानेको सानदार बलिङका कारण नेपालले अर्को रोमाञ्चक जित निकाल्न सफल भयो । अन्तिम ओभरमा ८ विकेट गुमाइसकेको कतारलाई जितका लागि १० रनको आवश्यकता थियो । त्यहिबेला कप्तान रोहित पौडेलले तीन खेलाडीलाई पेभिलियनको बाटो देखाइसकेका सन्दीपलाई बलिङको जिम्मेवारी दिए ।
सन्दीपले १०औं ओभरको अन्तिम बलमा नेपाललाई पहिलो सफलता दिलाएका थिए । ५६ रनको अर्धशतकीय पारी खेलेका ओपनर इमाल लियानेजलाई सन्दीपले बोल्ड गरिदिए । लियानेजले जुबेर अलीसँग मिलेर पहिलो विकेटका लागि ७९ रनको साझेदारी गरे । खेलमा सन्दीप लामिछानेले पाँच विकेट लिँदा नन्दन यादवले २ तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले रोहितको अर्धशतकीयसँगै ९ विकेट गुमाउँदै १४७ रन जोडेको थियो । रोहितले ५८ रनको पारी खेले । रोहित बाहेक दीपेन्द्रसिंह ऐरिले २६ रनको योगदान गरे । त्यस्तै अन्तिम तीन ओभर बाँकी रहँदा क्रिजमा आएका गुल्सन झाले २ छक्कासहित १६ रन बनाए । त्यस्तै १०औं नम्बरमा आएका सोमपाल कामीले १४ रन बनाए ।
कतारका लागि मिर्जा मोहम्मद बेइग र ड्यानियल आर्चर मारिया लुइसले समान तीन विकेट लिए । जितसँगै नेपाल अर्को वर्ष भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपको नजिक पुगेको छ । नेपाल ६ अंकका साथ हाल अंकतलिकाको दोस्रो स्थानमा छ ।
वि.सं.२०८२ असोज २८ मंगलवार ०७:०१



















