नेपाल बंगलादेशसँग २१ रनले पराजित, सन्दीप लामिछाने बने टी-२० मा छिटो विकेटको शतक पूरा गर्ने दोस्रो बलर
वि.सं.२०८१ असार ३ सोमवार ११:१७
1.7K
shares
काठमाडौं: वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग २१ रनको हार ब्यहोरेको छ । १०७ रनको लक्ष्य पाएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन जोड्यो ।
एक दशकपछि टी-२० विश्वकपमा फर्किएको नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । सोमबार सम्पन्न समूह ‘डी’ को अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित भएसँगै नेपाल जितविहीन भएको हो ।
नेपालका कुशल मल्लले सर्वाधिक २७ रन बनाए । दीपेन्द्रसिंह ऐरी २५ र आसिफ शेख १७ रनमा आउट हुँदा नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बंगलादेशका तनजीम हसन साकिबले सर्वाधिक चार विकेट लिए । मुस्तफिजुर रहमानले तीन, शाकिब अल हसनले दुई र तस्किन अहमदले एक विकेट लिए ।
जितसँगै बंगलादेश चार खेलबाट ६ अंक जोड्दै सुपर ‘एट’मा पुगेको छ । बंगलादेशले श्रीलंकालाई दुई विकेट र नेदरल्यान्ड्सलाई २५ रनले पराजित गर्यो । दक्षिण अफ्रिकासँग भने चार रनले पराजित भयो । नेदरल्यान्ड्ससँग नेपाल ६ विकेट र दक्षिण अफ्रिकासँग एक रनले पराजित भयो । श्रीलंकासँगको खेल वर्षाको कारण रद्द हुँदा नेपालले एक अंक पाएको थियो । यही एक अंकसहित नेपालले विश्वकप अन्त्य गरेको छ ।

यसैबीच नेपाली क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछानेले टी-२० आई क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । सन्दीपले बंगलादेशविरुद्ध २ विकेट लिँदै १०० विकेट पूरा गरेका हुन् । योसँगै उनी टी-२० आई क्रिकेटमा छोटो १०० विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । उनले ५४ टी-२० आई खेलमा १०० विकेट पूरा गरेका हुन् । छिटो १०० विकेट पूरा गर्ने खेलाडीको सुचीको पहिलो स्थानमा अफगानिस्तानका रसिद खानको नाममा छ ।
वि.सं.२०८१ असार ३ सोमवार ११:१७




















