सुपर ओभरमा ओमानलाई हराउँदै नामिबिया विजयी
वि.सं.२०८१ जेठ २१ सोमवार ११:५७
591
shares
काठमाडौं: सुपर ओभरमा ओमानलाई पराजित गर्दै नामिबियाले आईसीसी टी-२० विश्वकपमा विजयी यात्रा सुरुवात गरेको छ । आज बिहान भएको खेलमा समूह ‘बी’ को खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा ११ रनले हराएको हो ।
सुपर ओभरमा नामिबियका डेविट वाइस र गेहार्ड इरास्मस ब्याटिङमा आएका थिए । ओमानका विलाल खानले बलिङ गरेका थिए । सुपर ओभरमा नामिबियाले २१ रन बनाएको थियो । वाइसले पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा २ रन र चौथो बलमा १ रन लिए । पाचौँ र छैटौँ बलमा इरासमसले लगातार चौका प्रहार गरे ।
सुपर ओभरमा २२ रनको लक्ष्य पाएको ओमानका लागि नसिम खुसी र जिसन मब्सुद ब्याटिङमा आए । डेविट वाइस बलिङमा आए । ओमानले १ विकेट गुमाएर १० रन मात्र बनायो । तेस्रो बलमा नै ओमानका नसिन खुसी आउट भए । ओमानले ११० रनको मध्यम लक्ष्य पछ्याएको निामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
नामिबियाका लागि जान फ्राइलिंकले बनाएको ४५ रन नै सर्वाधिक रह्यो । उनले ४८ बलमा ६ चौका प्रहार गरे । निकोलस डाभिनले २४ र कप्तान गेहार्ड इरासमसले १३ रन थपे । २ बलको सामना गरेका ओपनर माइकल भान लिंगेन शुन्य रनमा नै विलाल खानको बलमा बोल्ड आउट भए । ओमानका मेहर खानले २ विकेट लिए । विलाल खान, अकिब इलियास र आयान खानले समान एक् विकेट लिए ।
त्यसअघि ब्रिजटाउनस्थित केनसिंग्टोन ओभलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमान २ बल अगावै १०९ रन बनाउँदा अलआउट भयो । खालिद खलिले बनाएको ३४ रन नै ओमानका लागि सर्वाधिक रह्यो । जिसन मक्सुदले २२ रन थपे। आयान खानले १५ तथा सकिल अहमदले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
ओमानलाई कम स्कोरमा रोक्न रुवेन ट्रम्पलम्यानले ४ विकेट लिए उनले ४ ओभरमा २१ रन खर्चे । डेविड वेल्सले ३ विकेट झारे । गेहार्ड इरास्मसले २ तथा वेनार्ड स्कटले १ विकेट आफ्नो नाममा गरे । विश्वकपमा आज राति नै समूह डी को पहिलो खेलमा श्रीलंका र दक्षिण अफ्रिका खेल्नेछन् । सो खेल राति सवा ८ बजे सुरु हुनेछ ।
वि.सं.२०८१ जेठ २१ सोमवार ११:५७