आज नेपाल र नामिबिया भिड्दै, जित्नै पर्ने दवावमा नेपाल
वि.सं.२०८० फागुन १८ शुक्रवार ०८:१४
2K
shares
काठमाडौं: त्रिकोणात्मक टी-२० आई सिरिजमा आज नेपालले नामिबियासँग खेल्दैछ । लगातार दुई खेल हारेको नेपाल पहिलो जितको खोजीमा हुनेछ । त्रिवि क्रिकेट मैदानमा खेल विहान साढे ११ बजे सुरु हुनेछ ।
नेपाल शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेलमा जित आवश्यक छ । आजको खेलमा पराजित भएमा नेपाल औपचारिक रुपमै फाइनल दौडबाट बाहिरिनेछ । नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो भने नेदरल्यान्ड्सले दुई रनले हराएको थियो ।
पछिल्ला ६ मध्ये ३ खेलमा ओपनर कुशल डकआउटको शिकार बन्दा अब नेपालको ओपनिङमै समस्या त आएको होइन भन्ने प्रश्न उठ्न थालेको छ । खेलमा लगातार दुई खेल जितेको नेदरल्याण्ड्स ४ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल अंकविहीन छ भने नामिबियाको दुई अंक रहेको छ ।
नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । आइतबार नामिबिया र नेदरल्यान्ड्स भिड्नेछन् । नेपाललाई फाइनलमा पुग्न दुवै खेलमा जित आवश्यक छ । आजको खेलमा जित बाहेक अन्य विकल्प छैन । नेपाल आज पराजित हुँदा नामिबिया र नेदरल्यान्ड्स फाइनल खेल्ने पक्का हुनेछ ।
वि.सं.२०८० फागुन १८ शुक्रवार ०८:१४




















