प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि
वि.सं.२०८० पुस ५ बिहीवार ०७:३६
2.1K
shares
काठमाडौं: प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । सात प्रदेश र विभागीय टोली एपीएफसहित आठ टोली सहभागी प्रतियोगिता पहिलो पटक सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुनेछ । १४ दिन चल्ने प्रतियोगितामा ३२ खेल हुनेछ ।
प्रतियोगिताको पहिलो दिन आज चार खेल हुनेछन् । त्रिवि मैदानमा हुने पहिलो खेलमा बागमती प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुने छ भने दोस्रो खेलमा गण्डकी र लुम्बिनी आमनेसमाने हुनेछन् । मूलपानीमा साबिक विजेता सुदूरपश्चिमले एपीएफको सामना गर्दा दोस्रो खेलमा कर्णाली र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
राउन्ड रोबिन लिगपछि प्लेअफ, इलिमिनेटर र फाइनल खेल हुनेछन् । पहिलोपटक राउन्ड रोबिनका आधारमा प्रतियोगिता सञ्चालन हुन लागेकामा सहभागी सबै टिमका कप्तानले खुसी व्यक्त गरेका छन् । अघिल्ला संस्करणमा सहभागी टोलीलाई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन हुँदै आएको थियो । यसपटक एउटा टोलीले कम्तीमा ७ खेल खेल्ने छ ।
राष्ट्रिय खेलकुद परिषद्को वार्षिक कार्यक्रमअन्तर्गत नेपाल क्रिकेट संघ क्यानको व्यवस्थापनमा हुने प्रतियोगिता टी-ट्वेन्टी ढाँचामा सञ्चालन हुनेछ ।
वि.सं.२०८० पुस ५ बिहीवार ०७:३६



















