नेपाललाई सुपर ओभरमा हराउँदै ओमान बन्यो च्याम्पियन
वि.सं.२०८० कात्तिक १९ आइतवार १४:५२
3.8K
shares
काठमाडौं: आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा घरेलु टोली नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेको छ ।
नेपालले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतिमा १८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । अबिनाश बोहराको ओभरमा तीन छक्का प्रहार गर्दै ओमानले नेपाल समक्ष सुपर ओभरमा ठुलो चुनौती प्रस्तुत गरेको थियो ।
सुपर ओभरमा नेपालका लागि ब्याटिङ गर्न कुशल भुर्तेल र गुलशन झा आएका थिए । ओमानका बिलाल खानले बलिङ गरेका थिए । बिलाल खानले पहिलो बलमा कुशल भुर्तेललाई पहिलो बलमै क्याच आउट गरेका थिए । कुशल मल्ल ब्याटिङमा आएका थिए । दोस्रो बल कुशललाई योर्करमा डट राखे । तेस्रो बलमा एक रन लिएका थिए ।
चौथो बलमा गुलशनलाई एक रन दिएपछि नेपालको जितको सम्भावना समाप्त भएको थियो । पाँचौं बलमा कुशल मल्लले चौका हाने । अन्तिम बलमा चौका लिएपनि जितको लागि पर्याप्त थिएन ।
सुपर ओभरमा नेपालका अभिनाश बोहराले २१ रन दिएका थिए । ओमानका अकिब इल्यास र मोहम्मद नदिम ब्याटिङमा आएका थिए । अभिनाशले पहिलो बल अकिबलाई एक रन दिएका थिए । दोस्रो बलमा नदिमले डिप मिडविकेटमा छक्का हाने । तेस्रो बल उनले डट राखेका थिए ।
चौथो बलमा नदिमले पुन डीप स्क्यायर लेगमा छक्का हाने । पाँचौं बल वाइड फ्याँले । सुरुवाती चार बलमा १४ रन जोडेको थियो । पाँचौं बलमा नदिमले काउकर्नरमा छक्का हाने । पाँच बलमा २० रन बटुलेको थियो । अन्तिम बलमा एक रन जोडेपछि सुपर ओभरमा २१ रन बनाएको थियो ।

त्यसअघि नेपाललाई जितको लागि अन्तिम ६ बलमा ८ रन रोक्नु पर्ने थियो । सन्दीपले पहिलो बल मोहम्मद नदीमलाई एक रन दिँदा दोस्रो बलमा आयन खानको विकेट लिएका थिए । लङअनमा आएन खान रोहित पौडेलबाट ८ रनमा क्याच आउट भएका थिए । अर्को बलमा एज लागेर सकिल अहमद क्याच आउट भएपछि तीन बलमा ओमानलाई जितको लागि ७ रन चाहिँएको थियो । चौथो बलमा फयाज बटले एक रन लिए । अन्तिम दुई बलमा ६ रन चाहिँएको थियो । पाँचौं बलमा चौका भएको थियो ।
अन्तिम बलमा ओमानले एक रन बटुलेपछि खेल सुपर ओभर भएको थियो । ओमानका कश्याप प्रजापतिले ५२ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६३ रनको योगदान दिए । अकिब इल्यास १९ बलमा २ चौका र ३ छक्कासहित ३३ रनमा आउट भए । उनी गुलशन झाको बलमा सन्दीप जोराबाट प्वाइन्टमा क्याच आउट भए ।
दोस्रो विकेटका लागि अकिब र कश्याप प्रजापतिले ६७ रनको साझेदारी गरेका थिए । कप्तान जिशान मकसुद १८ बलमा २ चौका र १ छक्कासहित २६ रनमा क्याच आउट भए । जिशान विवेक यादवको बलमा लगातार दोस्रो छक्का हान्ने धुनमा रोहित पौडेलबाट क्याच आउट भएका थिए । अभिनाश बोहराको १७ औं ओभरको पाँचौं बलमा कश्याप प्रजापति रोहित पौडेलबाट क्याच आउट भए ।

नेपालका सन्दीप लामिछानेले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । करण केसीले २ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । नेपालका सोमपाल कामीले ३ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए । गुलशन झाले २ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।
वि.सं.२०८० कात्तिक १९ आइतवार १४:५२




















