उपाधिका लागि आज श्रीलंका र भारत भिड्दै
वि.सं.२०८० भदौ ३१ आइतवार ०६:५०
2.5K
shares
एजेन्सीः एसिया कप क्रिकेटको उपाधिका लागि आज श्रीलंका र भारत भिड्दैछन् । श्रीलंकाको प्रेमदासा स्टेडियममा आज दिउँसो सवा ३ बजे खेल शुरु हुनेछ ।
श्रीलंकाले उपाधि दाबेदार पाकिस्तानलाई २ विकेटले हराएर भारतसँगको भेट पक्का गरेको हो । भारतले सुपर फोरमा श्रीलंकालाई नै पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको थियो । २१३ रनको लक्ष्य पछ्याएको श्रीलंका १७२ रनमा अल आउट भएको थियो ।
एसिया कपको फाइनलमा यी दुई टोलीबीच ८ पटक आमने सामने भएका छन् । ५ पटक भारतले श्रीलंकालाई हराएर उपाधि जितेको छ भने श्रीलंकाले ३ पटक भारतलाई हराएर उपाधि आफ्नो पक्षमा पारेको छ ।
फाइनलअघि दुवै टिमलाई खेलाडीको चोटले झट्का लागेको छ । आज हुने खेलमा श्रीलंकाका स्पिनर माहिस थिक्सानाले एसिया कपको फाइनल खेल गुमाउने भएका छन् । भारतविरुद्धको खेल उनले चोटका कारण गुमाउने भएका हुन् । २३ वर्षीय थिक्साना सुपर फोर अन्तर्गत पाकिस्तानसँगको खेलमा घाइते भएका थिए । उनको दाहिने ह्यामिस्ट्रङमा समस्या देखिएको थियो ।
त्यस्तै, भारतका अल राउन्डर अक्षर पटेल पनि चोटकै कारण श्रीलंकासँगको खेल गुमाउने भएका छन् । उनी शुक्रबार बंगलादेशविरुद्धको खेलमा घाइते भएका हुन् । अक्षर पटेलको स्थानमा वासिङटन सुन्दरलाई टिममा बोलाइएको छ ।
वि.सं.२०८० भदौ ३१ आइतवार ०६:५०




















