नवप्रवेशी क्लब चर्च ब्वाइज बन्यो ‘ए’ डिभिजन लिग च्याम्पियन
वि.सं.२०८० जेठ २३ मंगलवार १७:२१
3.7K
shares
काठमाडौं: थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ ।
चर्च ब्वाइजलाई उपाधि जित्न मात्र एक अंकको आवश्यकता रहेको थियो । यस्तोमा थ्री स्टारसँग बराबरीमा रोकिएपनि चर्च ब्वाइज च्याम्पियन बनेको हो । चर्च ब्वाइजले ‘ए’ डिभिजन लिगमा बढुवा भएकै सिजन ‘ए’ डिभिजन लिगको उपाधि जितेको हो ।
चर्च ब्वाइजले ‘बी’ लिगबाट बढुवा भएकै सिजन ‘ए’ डिभिजन लिग जित्दै मनाङ मर्स्याङ्दी क्लबको नाममा रहेको कीर्तिमानसँग बराबरी गरेको छ । मनाङले २०४२ सालमा ‘बी’ लिग र ०४३ सालमा ‘ए’ डिभिजन लिगको उपाधि जितेर कीर्तिमान बनाएको थियो । ३७ वर्षपछि चर्च ब्वाइजले मनाङको कीर्तिमानमा बराबरी गरेको हो ।
बाल गोपाल महर्जनको नेतृत्वमा रहेको चर्च ब्वाइज लिगको एक खेल बाँकी रहदै उपाधि जितेको छ । नेपाली फुटबलका सर्वाधिक सफल प्रशिक्षक महर्जनले प्रशिक्षकको रुपमा पहिलो पटक ‘ए’ डिभिजन लिगको उपाधि जितेका हुन् ।
चर्च ब्वाइजको यो १३ औं जित हो । चर्च ब्वाइज २५ खेलमा ४५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । चर्च दोस्रो स्थानको मछिन्द्र भन्दा ६ अंकले अघि रहेको छ । अब बाँकी दुबै खेल जितेपनि मछिन्द्र हेड टु हेडमा पछि पर्नेछ ।
मछिन्द्रले २४ खेलमा ३९ अंक जोडेको छ । थ्री स्टार २५ खेलमा २८ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
वि.सं.२०८० जेठ २३ मंगलवार १७:२१




















