आईसीसी विश्वकप क्रिकेटमा साविकको विजेता अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश
वि.सं.२०७६ असार ११ बुधवार ०८:५७
762
sharesएजेन्सी: इंग्ल्याण्डमा जारी १२औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा साविकको विजेता अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको खेलमा घरेलु टोली इंग्ल्याण्डलाई ६४ रनले पराजित गर्दै पाँच पटकको च्याम्पियन अष्ट्रेलिया दुई खेल अगाबै सेमिफाइनलमा प्रवेश गरेको हो । लर्ड्स क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४४ ओभर ४ बलमा अलआउट हुँदै २ सय २१ रनमा समेटियो । इंग्ल्याण्डका लागि बेन स्टोक्सले ८९ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै जोनी बैस्टोले २७, क्रिस वोक्सले २६ तथा जोश बट्लर र रशिद आदीलले समान २५/२५ रन बनाए । इंग्ल्याण्डलाई सस्तैमा अष्ट्रेलियाका लागि जासन पाउल बिहेर्नड्रोफले ४४ रन खर्चेर ५ विकेट लिए । यस्तै मिचेल स्टार्कले ४ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर २ सय ८५ रन बनाएको थियो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले एक सय रनको शतकीय इनिङ्स खेले । १ सय १६ बलमा फिन्चले ११ चौका र २ छक्का प्रहार गरे । फिन्चको यो जारी विश्वकपमा दोस्रो शतक हो । यस्तै डेभिड वार्नरले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै एलेक्स केरी र स्टेभेन स्मिथले ३८/३८ रन बनाए । इंग्ल्याण्डका लागि क्रिस वोक्सले २ विकेट लिए । यस्तै जोफ्रा आर्चर, मार्क वुड, बेन स्टोक्स र मोइन अलीले एक एक विकेट लिए । घरेलु टोलीलाई हराएसंगै अष्ट्रेलिया जारी विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ ।
वि.सं.२०७६ असार ११ बुधवार ०८:५७