आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतको विजयी सुरुवात
वि.सं.२०७६ जेठ २३ बिहीवार ०८:१७
831
sharesएजेन्सी: इंग्ल्याण्डमा जारी १२औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । बुधबार भएको खेलमा दक्षिण अफ्रीकालाई ६ विकेटले पराजित गर्दै भारतले सुखद सुरुवात गरेको हो ।
साउथह्याम्पटनमा दक्षिण अफ्रीकाले दिएको २२८ रनको मध्यम लक्ष्य भारतले ४७ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । भारतको जितमा रोहित शर्माले शतकीय इनिङ्स खेले । अविजित रहेका रोहितले १४४ बलमा १३ चौका र २ छक्कासहित १२२ रनको योगदान गरे । योसंगै रोहितले आफ्नो व्यक्तिगत २३ औं एकदिवसीय शतक पुरा गरे । यस्तै महेन्द्र सिंह धोनीले ३४ रन जोड्दा लोकेश राहुलले २६ रन बनाए । कप्तान विराट कोहली १८ रनमा आउट हुँदा शिखर धवन ८ रनमा पेभेलियन फर्किए । हार्दिक पाण्डयले अविजित १५ रन बनाए । दक्षिण अफ्रीकाका कागीसो राबडाले २ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि क्रिस मोरिसले सर्वाधिक ४२ रनको योगदान गरे । यस्तै कप्तान फाफ डु प्लेसिसले ३८, एण्डिले फेलुकवाओले ३४, डेभिड मिल्लरले ३१ तथा कागीसो राबडाले ३१ रनको योगदान गरे । दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न भारतका युजभेन्द्र चाहलले ४ विकेट हात पारे । यस्तै जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले समान २/२ विकेट लिए । जितसंगै भारतले पहिलो खेलबाट महत्वपूर्ण २ अंक जोडेको छ ।
वि.सं.२०७६ जेठ २३ बिहीवार ०८:१७