विश्वकप दक्षिण अमेरिकी छनोटमा ब्राजिल र इक्वेडरले खेले बराबरी
वि.सं.२०७८ माघ १४ शुक्रवार ०८:२९
2K
shares
एजेन्सी: ब्राजिलले फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा घरेलु टोली इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको छ ।
आज बिहान भएको खेलमा ब्राजिलका लागि क्यासमिरोले गोल गर्दा घरेलु टोलीका फेलिक्स टोरेसले बराबरी गोल फर्काए ।
दुवै टोलीले १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो ।
खेलको छैटौं मिनेटमा कप्तान क्यासमिरोको गोलबाट पाहुना टोली ब्राजिलले सुरुवाती अग्रता लिन सफल भएको थियो ।
खेलको १५औं मिनेटमा इक्वेडर १० खेलाडीमा समेटिन पुग्यो । म्याथिअस कुन्हामाथि रेफ्रीले भिएआरको सहायता लिदै गोलरक्षक एलेक्सान्डर डोमिनग्वेजलाई सिधै रातो कार्ड दिदै मैदान बाहिर पठाएको थियो ।
खेलको २०औं मिनेटमा ब्राजिल पनि १० खेलाडीमा समेटिन पुग्यो । इमर्सन रोयल दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिन पुगेका थिए ।
दुवै टोली १० खेलाडीमा समेटिएर खेल्दा ब्राजिलले बल पोसेसन राख्दै घरेलु टोलीलाई दवावमा राखेपनि दोस्रो हाफमा गोल खान पुग्यो ।
खेलको ७५औं मिनेटमा फेलिक्स टोरेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।
बराबरीसँगै शीर्षस्थानमा रहँदै विश्वकपमा स्थान बनाइसकेको ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा अपराजित यात्रालाई निरन्तरता दिन सफल भएको छ ।
ब्राजिलले १४ खेल खेल्दा ११ जित र ३ बराबरीको नतिजा निकालेर ३६ अंक जोडेको छ ।
वि.सं.२०७८ माघ १४ शुक्रवार ०८:२९




















