आहा रारा गोल्डकपको फाइनल पुग्नका लागि मनाङ र आर्मी भिड्दै
वि.सं.२०७८ माघ १३ बिहीवार ०८:१२
2.1K
shares
काठमाडौं: पोखरामा जारी २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुँदैछ ।
यी बीचको खेल पोखरा रंगशालामा दिउँसो २:३० बजे सुरु हुनेछ ।
आज दुबै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छ ।
मनाङले नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले हराएर अन्तिम चारमा स्थान बनाएको हो ।

यस्तै आर्मीले थ्री स्टारलाई १-० गोल अन्तरले हराएर मनाङसँगको भेट पक्का गरेको हो ।
यस खेलको विजेताले फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
मछिन्द्र फुटबल क्लबलाई ३-१ गोल अन्तरले हराएर एपीएफ फाईनल पुगिसकेको छ ।
फाइनल खेल शनिबार हुनेछ ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्नेछ ।
यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ।
त्यस्तै सर्वोकृष्ट खेलाडीको प्रायोजन अप्रिला स्कुटरले गरेको छ भने सर्वाधिक गोलकर्ताको पुरस्कार हङकङ निवासी अधिवक्ता देव गुरुङले प्रायोजन गरेका छन् ।
प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ ।
वि.सं.२०७८ माघ १३ बिहीवार ०८:१२




















